हेटौँडा–१५ को वनमा बोराभित्र भेटिएको महिलाको शव चार दिनसम्म पनि पहिचान हुन सकेन
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ सेल्फी रोडस्थित सामुदायिक वनमा बोराभित्र मृत अवस्थामा फेला परेकी महिलाको चार दिन बितिसक्दा पनि पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत साउन २२ गते दिउँसो करिब १ः५० बजे वन क्षेत्रमा रहेको करिब चार फिट गहिरो खाल्टोमा सेतो बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव फेला परेको थियो। वनमा च्याउ टिप्न गएका स्थानीयले खाल्टोमा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग स्क्वाड र एसओसिओसहितको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
बोरा खोलेर हेर्दा अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी महिलाको शव फेला परेको थियो। तर, साउन २२ गते शव भेटिएदेखि साउन २५ गतेसम्म पनि मृतकको नाम, थर, ठेगाना तथा आफन्तबारे कुनै जानकारी खुल्न सकेको छैन।
प्रहरीले मृतकको पहिचानका लागि सोमबार हुलियासहित उनले लगाएका कपडा र गहनाको विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार मृतकको उचाइ करिब पाँच फिट, तौल ५० देखि ५५ किलो, वर्ण गहुँगोरो, अनुहार गोलो तथा कपाल लामो र कालो रहेको छ।
मृतकले गुलाबी रङको कुर्ता र सेतो सुरुवाल लगाएकी थिइन्। कुर्ताको छाती भागमा सेतो फूलबुट्टा रहेको थियो। दुवै हातमा हरियो र रातो रङका एक–एक वटा लहठी, दुवै खुट्टाको दोस्रो औँलामा चाँदीजस्तो देखिने एक–एक वटा बिछिया र नाकमा फुली लगाएकी थिइन्।
त्यस्तै, घाँटीमा पहेँलो धातुमा रातो मोती जडित माला, बाँया कानमा सुनजस्तो पहेँलो धातुको एउटा मुन्द्रा र कपालमा सेतो रङको ‘बटरफ्लाई’ डिजाइनको क्लिप रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकलाई चिन्न सक्ने व्यक्ति वा आफन्तलाई यथाशीघ्र जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौँडामा सम्पर्क गर्न आग्रह गरेको छ।
शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ। शव वन क्षेत्रमा कसरी पुग्यो, कसले त्यहाँ ल्याएर फालेको हो तथा घटनाको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
कसरी पुग्यो, कसले त्यहाँ ल्याएर फालेको हो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।



पालिका संचारकर्मी 







