मनहरी खोलाको बहावमा बग्दा कैलाशका एक युवा बेपत्ता

पालिका संचारकर्मी
२१ श्रावण २०८३, बिहीबार १३:०७

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–४ सिसौटारमा मनहरी खोला तर्ने क्रममा एक चेपाङ युवा बेपत्ता भएका छन्। गएराति घर फर्किने क्रममा खोलाको तीव्र बहावमा परेपछि उनी बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार साउन २० गते राति करिब ११ बजे कालिकाटारबाट देउतीसस्थित घर फर्किरहेका कैलाश–४ सिसैटाका २५ वर्षीय प्रकाश तामाङ र ३२ वर्षीय अशोक प्रजा मनहरी खोला तर्दै थिए। सोही क्रममा अचानक बढेको खोलाको बहावले दुवैलाई बगाएको थियो।

घटनामा प्रकाश तामाङ सकुशल बाहिर निस्कन सफल भए पनि अशोक प्रजा खोलाले बगाएपछि सम्पर्कविहीन भएका छन्।

घटनाको जानकारी साउन २१ गते बिहान करिब ९:१५ बजे प्रहरी चौकी भार्तामा प्राप्त भएपछि प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले स्थानीयवासीसँग समन्वय गर्दै बेपत्ता अशोक प्रजाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।