भूमिहीन र सुकुमवासीको मुद्दा आज संसद्मा, प्रतिनिधिसभाको बैठक दिउँसो बस्दै
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम छ।
त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा लालपूर्जा वितरणलाई सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्नेछन्।
यसैबीच, आज विभिन्न पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक माथि दफाबार छलफललाई निरन्तरता दिनेछ भने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल गर्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल विशेष सेवा ऐन, २०४२ सम्बन्धी विधेयकमाथि सैद्धान्तिक तथा दफाबार छलफलका साथै कार्यविधि मस्यौदा उपसमितिको प्रतिवेदनमाथि पनि विचार गरिनेछ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची तय गरेको छ।

पालिका संचारकर्मी 





