बकैयाको तामाचौरमा पहिरोले दुई घरमा क्षति, अन्नपात र मकैबारीमा नोक्सानी
सोमबार बिहान करिब १०ः३० बजे परेको अविरल वर्षासँगै आएको पहिरो स्थानीय अनिल स्याङ्तानको एकतले घरभित्र पसेपछि घरमा राखिएको अन्नपात, लत्ताकपडा तथा अन्य घरायसी सामग्री पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। इट्टाले बनेको टिनको छाना भएको उक्त घरमा पहिरो पस्दा ठूलो क्षति पुगेको बताइएको छ।
उही पहिरोका कारण नजिकै रहेका बिबै सिंह स्याङ्तानको घरमा पनि आंशिक क्षति पुगेको छ। घरको एक पिलरमा असर परेको छ भने उनको मकैबारीसमेत पहिरोले बगाउँदा कृषिजन्य नोक्सानी भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी वडा नं. १२ का अध्यक्ष ज्ञानेन्द्र बजगाईले दिउँसो प्रहरीलाई गराएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको थियो।
यस घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। पहिरोबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

पालिका संचारकर्मी 





