मनहरी खोलामा बेपत्ता अशोक प्रजाको शव पुलमुनि फेला
मकवानपुर । कैलाश गाउँपालिका–४ का ३२ वर्षीय अशोक प्रजाको शव शुक्रबार बिहान मनहरी खोलास्थित मनहरी पुलमुनि फेला परेको छ।
साउन २० गते राति करिब ११ बजे कालिकाटारबाट घर फर्किने क्रममा अशोक प्रजा र कैलाश गाउँपालिका–४ देउतिस निवासी २५ वर्षीय प्रकाश तामाङले मनहरी खोला तर्ने प्रयास गरेका थिए। सोही क्रममा खोलाको तीव्र बहावले दुवैलाई बगाएको थियो।
घटनामा प्रकाश तामाङ सकुशल बाहिर निस्कन सफल भए पनि अशोक प्रजा बेपत्ता भएका थिए। त्यसपछि प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो।
सोही खोजीका क्रममा शुक्रबार बिहान मनहरी पुलमुनि अशोक प्रजाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

पालिका संचारकर्मी 







