बागमतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने चेतावनी
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल नेपालको तराई भूभाग नजिक, सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात, पहाडी क्षेत्रमा धेरै स्थानमा र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षाको अनुमान गरिएको छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य सेवा, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।

पालिका संचारकर्मी 





