भिमफेदी–२ चुनियामा मेशिनरी बोकेको ट्रक दुर्घटनाग्रस्त
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ चुनियास्थित त्रिभुवन राजमार्गमा मेशिनरी सामान बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ११ बजे वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ४७०५ नम्बरको ट्रक दुर्घटनामा परेको हो।
पालुङबाट हेटौंडातर्फ आउँदै गरेको नम्बर नखुलेको अर्को ट्रकले साइड च्याप्दै आएपछि बाटो छोड्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। साइड दिने क्रममा ट्रकको पछाडिको चक्का सडकको किनारमा परेपछि बाटो भासिएको र ट्रक करिब २०–२५ मिटर तल खसेर बाँसको झ्याङमा अड्किएको थियो।
दुर्घटनामा ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१४ निवासी ४३ वर्षीय सुब्बा स्याङतान घाइते भएका छन्। उनको ढाड, कम्मर र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था सुधार भएपछि बिहीबार बिहान डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी भैंसेबाट प्रहरी र ट्राफिकको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा ट्रकमा क्षति पुगेको छ। चालकले मादक पदार्थ सेवन नगरेको र सवारीका आवश्यक कागजातसमेत ठीक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

पालिका संचारकर्मी 







