बकैयामा खोल्सीले बगाएकी महिलाको उपचारकै क्रममा मृत्यु

पालिका संचारकर्मी
२० श्रावण २०८३, बुधबार १०:२४

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–४ स्थित चिरुवा खोल्सी तर्ने क्रममा पानीको बहावले बगाएकी एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ। सोही घटनामा अर्की एक महिला घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ९ः३० बजे स्थानीय ४१ वर्षीया तारा भोलन र ५० वर्षीया सुनमाया वाइवा घरबाट दूध डेरीतर्फ जाने क्रममा चिरुवा खोल्सी तर्दै थिए। सोही बेला एक्कासी पानीको बहाव बढेपछि दुवै जना बगेर करिब २०० देखि ३०० मिटर तल पुगेका थिए।

घटनापछि दुवैलाई उद्धार गरी बकैया आधारभूत अस्पतालमा उपचार गराइएको थियो। हातखुट्टा र ढाडमा चोट लागे पनि अवस्था सामान्य रहेको भन्दै उपचारपछि उनीहरू घर फर्किएका थिए।

पछि स्वास्थ्य अवस्था जटिल बनेपछि तारा भोलनलाई थप उपचारका लागि चुरेहिलस्थित सीएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार दिउँसो २ः५७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते सुनमाया वाइवाको भने उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरगरेबाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वर्षायाममा खोलानाला तर्दा विशेष सावधानी अपनाउन, पानीको बहावको अवस्था बुझेर मात्र पार गर्न तथा अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।