एमाले बागमती संसदीय दलको बैठक भोलि, थपलियामाथिको अविश्वास प्रस्ताव मुख्य एजेन्डा
हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक भोलि मंगलबार बस्ने भएको छ। सत्ता समीकरण र आन्तरिक विवादका कारण लामो समयदेखि अन्योलमा रहेको एमाले संसदीय दलको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको हो।
बैठकमा संसदीय दलका नेता जगन्नाथ थपलियामाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ। नेतृत्व परिवर्तनको मागसहित अविश्वास प्रस्ताव दर्ता भएपछि एमाले बागमतीभित्रको विवाद थप चर्किएको हो।
गत बुधबार प्रदेशसभा सचिवालय हेटौँडा र संसदीय दलको कार्यालयमा थपलियालाई दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता भएको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा १६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको बताइएको छ।
अविश्वास प्रस्तावमा पूर्वस्वास्थ्य मन्त्री किरण थापा मगरलाई संसदीय दलको नेता बनाउने प्रस्तावसमेत गरिएको छ। शीर्ष तहबाटै नेतृत्व परिवर्तनको तयारी भइरहे पनि वर्तमान दलका नेता थपलिया भने अविश्वास प्रस्तावको सामना गर्ने पक्षमा देखिएका छन्।
यसैबीच एमालेले नेपाली कांग्रेससँगको सत्ता साझेदारी त्यागेर नेकपासँग सरकार गठनका लागि सहकार्य अघि बढाएको छ। बागमतीमा एमाले र नेकपाको बाम गठबन्धन सरकार बनाउने तयारी भइरहेका बेला एमालेभित्रै संसदीय दलको नेताको विषयले नयाँ चुनौती सिर्जना गरेको छ।
अबको बैठकबाट संसदीय दलको नेतृत्वसम्बन्धी विवाद टुंग्याएर सरकार गठनको प्रक्रियालाई अघि बढाउने एमालेको तयारी छ। त्यसैले भोलिको बैठकलाई बागमती एमालेको आन्तरिक शक्ति समीकरण र आगामी सरकार गठनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

पालिका संचारकर्मी 






