बानियाँ विश्वासको मत नलिँदै बाहिरिने, नयाँ सरकार बनाउन एमाले सक्रिय

पालिका संचारकर्मी
१ भाद्र २०८३, सोमबार ११:०९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनुअघि नै राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ। नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले सोमबार प्रदेशसभालाई सम्बोधन गरेपछि राजीनामा दिने तयारी गरेका हुन्।

मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेका छन्। तर विश्वासको मतसम्बन्धी प्रस्ताव मतदानमा जानुअघि नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारीमा उनी रहेको स्रोतको दाबी छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेले समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो।

बानियाँले राजीनामा दिएसँगै बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपा संयुक्त रूपमा अघि बढ्ने तयारीमा छन्।

यसैबीच एमालेले मंगलबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ। बैठकले प्रदेशमा नयाँ सरकार गठनका लागि संसदीय दलको नेताको टुंगो लगाउने तयारी गरेको छ।

स्रोतका अनुसार एमालेले पूर्वस्वास्थ्य मन्त्री किरण थापालाई संसदीय दलको नेताका रूपमा अघि सार्ने तयारी गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउन निर्देशन दिएको बताइएको छ।

थपलियाविरुद्ध एमालेका १८ जना प्रदेशसभा सदस्यले संसदीय दलको सचिवालयमा अविश्वास प्रस्तावसमेत दर्ता गराइसकेका छन्। मंगलबार बस्ने बैठकले दलको नेताको टुंगो लगाएपछि एमालेले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेको छ।

मुख्यमन्त्री बानियाँको राजीनामा र एमाले संसदीय दलको नेतृत्व परिवर्तनसँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण कार्यान्वयनको चरणमा प्रवेश गर्ने देखिएको छ।

कान्तीपुरबाट ।