मकवानपुरमा जंगली जनावरबाट बच्न खोज्दा ईभी पल्टियो, ६ जना घाइते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित महेन्द्र राजमार्गमा जंगली जनावरबाट बच्ने प्रयास गर्दा ईभी (इलेक्ट्रिक) गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा गाडीमा सवार ६ जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १२ः५० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०४६९ नम्बरको ईभी गाडी रातोमाटे चेकपोस्ट नजिक आइपुग्दा एक्कासी जंगली जनावरले सडक पार गर्न खोजेको प्रहरीले जनाएको छ। जनावरलाई जोगाउने क्रममा चालकले गाडीको नियन्त्रण गुमाउँदा सवारी सडकको बाँया किनारमा पल्टिएको हो।
दुर्घटनाका बेला गाडीमा चालकसहित ८ जना सवार रहेकामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोट तादी गाउँपालिका–३ की ४२ वर्षीया सीता सुनार, ५५ वर्षीया राधा सुनार, भारतको बिहारका २४ वर्षीय क्यामुल हक, पर्साको वीरगञ्ज–१५ का २३ वर्षीय रवि कुमार गुप्ता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४८ वर्षीय पासाङ लामा तथा काठमाडौंको दक्षिणकाली नगरपालिका–५ का २७ वर्षीय कृष्ण तामाङ रहेका छन्।
घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनामा संलग्न गाडीका चालक काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० निवासी ५६ वर्षीय दिलिप सिलिवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीसँग वैध चालक अनुमति पत्र रहेको र मादक पदार्थ सेवन नगरेको खुलेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






