भरेङडाँडामा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण अवरुद्ध
पालिका संचारकर्मी १६ असार २०८३, मंगलवार १३:३९
मकवानपुर । लगातारको वर्षापछि खसेको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथअन्तर्गत यातायात सेवा मंगलबार बिहानदेखि अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भिमफेदी गाउँपालिका–८ भरेङडाँडासहित मकवानपुर–ललितपुर सिमानास्थित बागमती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। मौसममा सुधार आएपछि मात्रै सडक खुलाउने गरी पहिरो हटाउने काम अघि बढाइने जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना जारी नभएसम्म कान्तिलोकपथ भएर यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सबै सवारी चालक र यात्रुलाई आग्रह गरेका छन्।








