जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेटको उपाधिका लागि सिद्धार्थ र आधुनिक भिड्ने

पालिका संचारकर्मी
१४ असार २०८३, आईतवार ०६:४०

हेटौँडा । गौरीटार रंगशालामा जारी मकवानपुर जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र सिद्धार्थ शिशु सदनबीच प्रतिस्पर्धा हुने भएको छ। शनिबार भएका सेमिफाइनल खेलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

पहिलो सेमिफाइनलमा मैदान भिजेका कारण खेल १० ओभरमा सीमित गरिएको थियो। टस जितेर पहिले बलिङ रोजेको जिएस निकेतनविरुद्ध आधुनिकले ४ विकेट गुमाएर १०८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। आधुनिकका कप्तान आदर्श यादवले ५४ रनको आकर्षक अर्धशतकीय इनिङ्स खेले। जिएस निकेतनका सुमार्ग भण्डारी, बासुदेव पाण्डे, युनिस्ज सुवेदी र प्रवेश नेपालले समान एक–एक विकेट लिए।

१०९ रनको लक्ष्य पछ्याएको जिएस निकेतन आधुनिकको कसिलो बलिङसामु टिक्न सकेन। टोली १० ओभरमा ९ विकेट गुमाउँदै ५२ रनमा सीमित भयो। कप्तान सुमार्ग भण्डारीले सर्वाधिक १४ रन बनाए भने पाँच ब्याटर खाता नै नखोली आउट भए। आधुनिकका आकाश यादव र शाहिल यादवले समान दुई–दुई विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका आदर्श यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो सेमिफाइनलमा नवोदय शिशु सदनलाई ३ विकेटले पराजित गर्दै सिद्धार्थ शिशु सदनले फाइनल यात्रा तय गर्यो। पहिले ब्याटिङ गरेको नवोदय १६ ओभरमा ७० रनमै समेटिएको थियो। कप्तान कोशिस कप्रौलाले २५ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। सिद्धार्थका रितुराज सिंहले ४, नमन भट्टराईले २ तथा आयुष कुमार यादवले १ विकेट लिए।

७१ रनको लक्ष्य सिद्धार्थले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। नमन भट्टराईले २५ रन बनाएर टोलीको जितमा निर्णायक भूमिका खेले भने नवोदयका हिमान्सु हुमागाईं, सम्पर्ण थापा र सुप्रिम गौतमले समान दुई–दुई विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका नमन ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ। विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई पनि ट्रफीबाट सम्मान गरिने आयोजकले जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको निरज श्रेष्ठ स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताका लागि जिल्ला छनोटको रूपमा यो प्रतियोगिता सञ्चालन गरिएको हो। यस प्रतियोगिताको विजेता टोलीले मकवानपुरको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ भने प्रदेश विजेताले राष्ट्रिय प्रतियोगितामा स्थान बनाउनेछ।