टेलिचलचित्र ‘सीता’ बाट चर्चित समिया कार्की अब फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मा
टेलिचलचित्र ‘सीता’ मार्फत दर्शकमाझ परिचित बनेकी कलाकार समिया कार्की अब नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्ने भएकी छन्। रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको कमेडी चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन्।
दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेर पहिचान बनाएकी समियाले ‘सीता’ मा सीताको नन्दको भूमिकाबाट दर्शकको ध्यान खिचेकी थिइन्। अब यही सफलतालाई निरन्तरता दिँदै उनी पहिलो पटक ठूलो पर्दामा देखिन लागेकी हुन्।
फिल्ममा समियासँगै चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा रहनेछिन्। परितोषिकाका लागि समेत यो डेब्यु फिल्म हुनेछ।
निर्देशक अमरदीप सापकोटाका अनुसार चलचित्र कमेडी शैलीमा निर्माण हुनेछ र यसले हास्यरससँगै समसामयिक विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नेछ। नयाँ पुस्ताका कलाकारहरूको सहभागिताले फिल्मप्रति दर्शकको चासो बढ्ने निर्माण टिमको विश्वास छ।
‘तीन तिघ्रे क्या बिग्रे’ मार्फत दुई नयाँ कलाकारले एकसाथ फिल्मी यात्रा सुरु गर्न लागेकाले चलचित्र यतिबेलै चर्चामा आउन थालेको छ।

पालिका संचारकर्मी 







