रास्वपामा आज केन्द्रीय सदस्यका लागि मतदान, दुई घण्टामै नतिजा आउने दाबी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि बुधबार बिहानदेखि मतदान सुरु हुने भएको छ। चार दिनदेखि जारी महाधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको निर्वाचन बिहान ८ बजेदेखि सञ्चालन गरिने तयारी गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान प्रक्रिया करिब ८ घण्टासम्म चल्न सक्नेछ। मतदान सम्पन्न भएको दुई घण्टाभित्रै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए।
यसपटक रास्वपाले निर्वाचनलाई प्रविधिमैत्री बनाउँदै मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप दुवैको प्रयोग गर्ने व्यवस्था गरेको छ। मतदानस्थलमा उपस्थित प्रतिनिधिले ईभीएममार्फत मत हाल्नेछन् भने विदेशमा रहेका प्रतिनिधिले पार्टीको मोबाइल एप प्रयोग गरेर मतदान गर्न सक्नेछन्।
पार्टी विधानअनुसार महाधिवेशनमा निर्वाचन दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्यको चयन गरिनेछ। त्यसपछि दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन हुनेछ।
रास्वपाको व्यवस्थाअनुसार केन्द्रीय सदस्यमा निर्वाचित भएका व्यक्तिहरू मात्रै पदाधिकारी पदका लागि उम्मेदवार बन्न पाउनेछन्।
यसअघि १२ सदस्यीय रहेको पदाधिकारी संरचनालाई विधान संशोधनमार्फत विस्तार गरी १९ सदस्यीय बनाइएको छ। त्यसैले यसपटकको निर्वाचनबाट पार्टीको भावी नेतृत्व र संगठनात्मक संरचनाको स्पष्ट चित्र देखिने अपेक्षा गरिएको छ।

पालिका संचारकर्मी 







