आगामी तीनदेखि चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना
पालिका संचारकर्मी
काठमाडौं । आगामी तीनदेखि चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन सक्रिय हुने अनुमान गरिएको छ। यससँगै हालसम्म मनसुन नपुगेका पश्चिमी भूभाग पनि वर्षायामको प्रभावमा आउने अपेक्षा गरिएको छ।
यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो, असार ५ गते (जुन १९) पूर्वी नेपालबाट भित्रिएको थियो। त्यसपछि असार ८ गतेसम्म मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म विस्तार भए पनि यसको प्रभाव अझै कमजोर रहेको महाशाखाले जनाएको छ।
हाल देशका पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले पर्याप्त वर्षा हुन सकेको छैन। वर्षा अभावका कारण लुम्बिनीसहित पश्चिम तराईमा अत्यधिक गर्मी बढ्नुका साथै धान रोपाइँसमेत प्रभावित बनेको छ।
आज कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थान, साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तातो लहर (हिटवेभ) को सम्भावना रहेकाले अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।








