फिफा विश्वकप २०२६ : उएडाको दुई गोलमा ट्युनिसियामाथि जापानको ४–० को प्रभावशाली जित
मोन्टेरे । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा जापानले प्रभावशाली प्रदर्शन गर्दै ट्युनिसियालाई ४–० ले पराजित गरेको छ। यस जितसँगै जापानले नकआउट चरण पुग्ने सम्भावनालाई थप मजबुत बनाएको छ।
मेक्सिकोस्थित Estadio BBVA मा आइतबार बिहान भएको खेलमा जापान सुरुदेखि नै हावी देखिएको थियो। खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफको ३१औं मिनेटमा आयासे उएडाले अर्को गोल थपेपछि जापानले २–० को सहज अग्रता बनायो। दोस्रो हाफमा पनि जापानी टोलीले आक्रामक खेल जारी राख्यो।
६९औं मिनेटमा जुन्या इटोले तेस्रो गोल गरे भने ८३औं मिनेटमा उएडाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानको जितलाई ४–० मा पुर्याए। ट्युनिसियाले केही अवसर सिर्जना गरे पनि जापानी रक्षापङ्क्ति र गोलकिपर जायोन सुजुकी अगाडि सफल हुन सकेन।
लगातार दबाबमा परेको ट्युनिसियाले जापानको तीव्र गतिका आक्रमण रोक्न नसक्दा दोस्रो खेलमा पनि ठूलो हार बेहोर्नुपर्यो। प्रतियोगितामा दुई खेलमा ९ गोल खाइसकेको ट्युनिसिया समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ।
यस जितपछि जापान समूह ‘एफ’ को शीर्ष स्थानका लागि Netherlands सँग प्रतिस्पर्धामा रहनेछ। पहिलो खेलमा बराबरी खेलेको जापानले अब गोल अन्तर सुधार्दै समूह विजेता बन्ने लक्ष्य राखेको छ। प्रशिक्षकले अन्तिम समयमा केही प्रमुख खेलाडीलाई विश्राम दिँदै आगामी खेलको तयारीसमेत गरेका थिए।

पालिका संचारकर्मी 







