बालजागृतिमा पहिलोपटक अनलाइन मतदान, रिजन र अस्मिता बने विद्यार्थी नेतृत्वको प्रमुख अनुहार

पालिका संचारकर्मी
११ असार २०८३, बिहीबार ०६:३७

हेटौँडाको बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थी नेतृत्व चयनलाई प्रविधिसँग जोड्दै पहिलोपटक अनलाइन प्रणालीमार्फत निर्वाचन सम्पन्न गरेको छ। विद्यालयले परम्परागत मतदान प्रक्रियालाई प्रतिस्थापन गर्दै ल्यापटपमार्फत अनलाइन भोटिङ गराएको हो।

बुधबार सम्पन्न निर्वाचनमा विद्यालय कप्तान पदमा रिजन जिम्बा ३ सय ३५ मतसहित विजयी हुनुभएको छ भने उपकप्तान पदमा अस्मिता थिङ २ सय ५४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको विद्यालयले जनाएको छ।

विद्यालय परिसरमा ६ वटा मतदान केन्द्र स्थापना गरी अनलाइन मतदान गराइएको थियो। कुल ६ सय ९७ मतदातामध्ये ६ सय ४७ जना विद्यार्थीले मताधिकार प्रयोग गरेका थिए। कक्षा ६ देखि १० सम्मका विद्यार्थी उम्मेदवार र मतदाता बन्न पाउने व्यवस्था गरिएको थियो।

विद्यालयका अनुसार निर्वाचनमार्फत १८ पदका लागि ७२ जना विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचनबाट विभिन्न क्लब र सदनका कप्तान तथा उपकप्तानसमेत चयन भएका छन्।

विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले विद्यार्थीमा लोकतान्त्रिक संस्कार, नेतृत्व विकास र प्रविधिमैत्री अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले अनलाइन निर्वाचन आयोजना गरिएको बताउनुभयो।