इन्द्रसरोवर पिकअप दुर्घटनाका घाइते चालकको उपचारकै क्रममा मृत्यु

पालिका संचारकर्मी
१४ असार २०८३, आईतवार १३:३१

हेटौँडा । मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घारखोल्सास्थित दक्षिणकाली सडकखण्डमा शुक्रबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय मुकुन्द झ्यारी मगरको आइतबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

थाहा नगरपालिका–९ चित्लाङ निवासी झ्यारी मगरले चलाएको बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको पिकअप शुक्रबार बिहान करिब साढे ६ बजे अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनापछि गम्भीर अवस्थामा उद्धार गरिएका झ्यारी मगरलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले आइतबार बिहान मृत घोषणा गरेका हुन्।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।