तीनदिने ड्रागन फ्रुट महोत्सवमा करिब १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री हुँदा २५ लाख रुपैयाँ बराबरको कारोबार

पालिका संचारकर्मी
१५ असार २०८३, सोमबार ११:०६

हेटौँडा । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न तीनदिने ड्रागन फ्रुट महोत्सवमा करिब १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री हुँदा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

हेटौँडा–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा आयोजित महोत्सवमा हेटौँडासहित आसपासका क्षेत्रबाट उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपमहानगरपालिकाको कृषि विकास शाखाले जनाएको छ।

कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीका अनुसार महोत्सवले स्थानीय किसानले उत्पादन गरेका ड्रागन फ्रुटलाई प्रत्यक्ष बजार उपलब्ध गराउनुका साथै उपभोक्तालाई ताजा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्ने अवसर प्रदान गरेको छ।

आयोजकका अनुसार महोत्सवले स्वदेशी फलफूलको बजार अभावभन्दा पनि उपभोक्ताको रोजाइ र बजार प्राथमिकतालाई स्थानीय उत्पादनतर्फ केन्द्रित गर्न आवश्यक रहेको सन्देश दिएको छ। उचित बजारीकरण र उपभोक्ताको साथ पाए नेपाली किसानले उत्पादन गरेका फलफूलले राम्रो बजार पाउन सक्ने विश्वास आयोजकको छ।

रेग्मीले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई उचित मूल्य सुनिश्चित गर्ने तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्न यस्ता महोत्सव प्रभावकारी माध्यम बनेको बताए। आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ।