अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेट, सम्बन्ध सुदृढीकरणमा जोड

पालिका संचारकर्मी
८ बैशाख २०८३, मंगलवार ११:४२

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र आर्थिक सहकार्य विस्तार गर्ने विषयमा विशेष छलफल भएको थियो।

दुवै पक्षले आर्थिक साझेदारीका नयाँ अवसर खोजी गर्दै द्विपक्षीय सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई आर्थिक विकाससँग जोडेर अघि बढाउने विषयमा पनि सहमति भएको बताइएको छ।

तीन दिने नेपाल भ्रमणका क्रममा कपुरले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र केही उद्योगी–व्यवसायीसँग पनि भेटवार्ता गरेका थिए। आज उनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।