मिथिलाञ्चलमा जुडशीतलको रौनक: प्रकृति, स्वास्थ्य र सद्भावको पर्व हर्षोल्लासका साथ मनाइँदै

पालिका संचारकर्मी
२ बैशाख २०८३, बुधबार १२:२९

मिथिलाञ्चल क्षेत्र आज जुडशीतल पर्वको उल्लासले रंगिएको छ। सिरहा लगायतका जिल्लामा बुधबार यो पर्व धूमधामका साथ मनाइँदैछ, जसको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

प्रकृति र मानव स्वास्थ्यसँग गहिरो सम्बन्ध जोडिएको यो पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षको रूपमा लिने गरिन्छ भने थारू समुदायले ‘सिरूवा’ पर्वका रूपमा मनाउँछन्। बढ्दो गर्मीबाट राहत दिलाउने उद्देश्यले मनाइने यस पर्वले मानिससँगै वनस्पति र पशुपक्षीको पनि शीतलताको कामना गर्ने विशेषता बोकेको छ।

‘जुड’ अर्थात् आशीर्वाद र ‘शीतल’ अर्थात् शान्ति तथा चिसोपनको सन्देश दिने यो पर्वमा बिहानै ज्येष्ठ सदस्यहरूले सानालाई टाउकोमा पानी हालेर आशीर्वाद दिने चलन छ। परिवार र आफन्तबीच शीतलताको कामना साटासाट गर्दै सम्बन्ध अझ प्रगाढ बनाउने अवसरका रूपमा पनि यो पर्व लिइन्छ।

कृषिप्रधान जीवनशैली झल्काउने यस पर्वमा घर, आँगन, चुलो, सवारी साधनदेखि पशुपक्षी र बोटबिरुवासम्म पानी जुराएर शीतलता प्रदान गरिन्छ। चुलोसमेत चिस्याइने भएकाले यस दिन घरमा नयाँ खाना पकाइँदैन, अघिल्लो दिन पकाइएको परिकार खाने परम्परा रहेको छ।

साथै, इनार र कुवाको सरसफाइ, शरीरमा हिलो दल्ने प्रचलनजस्ता अभ्यासले प्राकृतिक स्वास्थ्य पद्धतिलाई पनि उजागर गर्छन्। परिकारका रूपमा तरुवा, बरी, दहीजस्ता खाद्यवस्तु विशेष रूपमा सेवन गरिन्छ।

स्थानीय बासिन्दाका अनुसार जुडशीतलले सामाजिक एकता, आपसी सद्भाव र प्रकृतिसँगको सम्बन्धलाई अझ मजबुत बनाउने काम गर्छ। यस पर्वले परम्परा जोगाउँदै स्वास्थ्य र वातावरणप्रति सचेत रहन प्रेरणा दिने विश्वास गरिन्छ।