मकवानपुरमा घरेलु मदिरा उद्योग विस्तार: नियन्त्रण कि व्यवस्थापन—दुवै विकल्पबीच बहस तीव्र
पालिका संचारकर्मी
मकवानपुर जिल्लामा पछिल्लो समय घरेलु मदिरा उत्पादन गर्ने अवैध उद्योगहरूको विस्तार तीव्र रूपमा बढ्दै गएको देखिएको छ। हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा घरायसी प्रयोजनदेखि व्यावसायिक बिक्रीसम्मका लागि यस्ता मदिरा उद्योग सञ्चालनमा छन्।
वर्षौंदेखि प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउँदै आए पनि यस्ता उद्योगहरू बन्द हुनुको सट्टा अझ व्यवस्थित र ठूलो रूपमा सञ्चालन हुने प्रवृत्ति देखिएको छ। हेटौँडा बजार आसपास तथा ग्रामीण क्षेत्रमा फैलिएका भट्टिहरूले स्थानीय बजारमा उल्लेख्य खपत कायम गरिरहेका छन्।
यसैबीच, अवैध रूपमा सञ्चालन भइरहेका उद्योगलाई पूर्ण रूपमा नष्ट गर्ने कि नियमन गरी ब्राण्डिङतर्फ लैजाने भन्ने विषयमा बहस सुरु भएको छ। सरोकारवालाहरूको भनाइमा, उचित नीतिगत व्यवस्थापन गरिएमा राज्यले कर संकलन गर्न सक्ने र आयातित मदिरामाथिको निर्भरता समेत घटाउन सकिने सम्भावना रहेको छ।
तर अर्कोतर्फ, अवैध उत्पादनले जनस्वास्थ्यमा जोखिम, गुणस्तर नियन्त्रणको अभाव तथा कानुनी चुनौतीहरू पनि निम्त्याउने देखिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समय दुईवटा ठूला कारबाही गर्दै ठूलो परिमाणमा मदिरा बरामद गरेको जनाएको छ। चैत २९ गते हेटौँडा–१ चौकीटोलमा गरिएको छापामार कारबाहीमा करिब ४ हजार लिटर तयारी मदिरा र ५ हजार लिटर कच्चा पदार्थ बरामद गरिएको थियो। सो घटनामा सञ्चालकसहित चार जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ।
त्यसअघि चैत २३ गते हेटौँडा–१६ मा गरिएको अर्को कारबाहीमा ५ सय लिटर तयारी मदिरा र २ हजार ५ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको थियो। उक्त घटनामा पनि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता अवैध गतिविधिमाथि कारबाहीलाई निरन्तरता दिने बताए पनि स्थानीय स्तरमा नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो बढ्दो छ।
हाल, एकातिर अवैध भन्दै नष्ट गर्ने अभियान जारी छ भने अर्कोतर्फ उत्पादन र खपत बढ्दो छ। यही परिस्थितिमा घरेलु मदिरालाई व्यवस्थापन गरी राजस्वको दायरामा ल्याउने कि पूर्ण रूपमा प्रतिबन्ध गर्ने भन्ने विषय अझै स्पष्ट नीतिगत निर्णयको प्रतीक्षामा रहेको छ।









