हिलिहाङमा १२ प्रतिशतमा नसर्ने रोग फेला

पालिका संचारकर्मी
८ चैत्र २०८२, आईतवार १५:५०

पाँचथर/पाँचथरको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’ कार्यक्रममा १२ प्रतिशतमा नसर्ने रोगका लक्षण फेला परेको छ। ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी समस्या लगायतका लक्षण देखिएका हुन्।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेका अनुसार नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, आफ्नै काममा व्यस्त र आर्थिक अवस्था कमजोर नागरिकको स्वास्थ्य जाँच गर्दा यस्तो अवस्था देखिएको हो। मधुमेह र उच्च रक्तचापले प्रभावित भए पनि परीक्षण नगरिएका व्यक्तिलाई लक्षित गरी परामर्श र उपचारको व्यवस्था गरिएको छ।

घिमिरेले भने, “सामान्यतया स्वस्थ देखिने व्यक्तिमा पनि नसर्ने रोगका लक्षण फेला परेका छन्। गत वर्षदेखि हामीले नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्दै आएका छौं। यसमा उल्लेख्य संख्यामा बिरामी भेटिएका छन्।” उनले बताए अनुसार स्वास्थ्य संस्थाहरूले विवाह, भोजभतेर लगायतका सामाजिक–धार्मिक कार्यक्रममा सहभागीको स्वास्थ्य परीक्षण गर्दै आएका छन्।

स्थानीयहरू सामान्यतया स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्र उपचारका लागि जाने भएकाले नसर्ने रोग बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख घिमिरेको बुझाइ छ। “नियमित स्वास्थ्य परीक्षण नगर्दा रोगले जटिल समस्या सिर्जना गर्छ। त्यसैले नियमित परीक्षणमा स्थानीयलाई सहभागी गराउने उद्देश्यले यो खोज पड्ताल कार्यक्रम सञ्चालन गरिएको हो,” उनले थपे।

गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क औषधि वितरण गर्दै आएको छ। साथै, स्वास्थ्य सचेतना फैलाउन वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत छुट्टै ‘क्लिनिक’ सञ्चालन गर्दै प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनलगायत विषयमा जानकारी दिइँदै आएको छ।

यो कार्यक्रम गाउँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने जानकारी स्वास्थ्य शाखा प्रमुख घिमिरेले दिएका छन्। खोज पड्तालको क्रममा चार जनामा कालाजार र छ जनामा क्षयरोग पनि फेला परेको छ। स्वास्थ्य संस्थाले पहाडी क्षेत्रमा कम देखिने कालाजारको सङ्क्रमण भए पनि चार जना बिरामी भेटिएपछि सचेतना कार्यक्रमलाई विस्तार गरेको छ।

क्षयरोगका बिरामीलाई नियमित औषधि सेवन गराएर निको पार्ने र अन्य बिरामीको पहिचान गर्न कार्यक्रम निरन्तर सञ्चालन गरिएको छ। यसले बजेट व्यवस्थापन र औषधि खरिद सहज बनाएको र बिरामीलाई जटिल अवस्थामा पुग्नबाट बचाएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए।

गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले भने, “खोज र खोप अभियानमार्फत नसर्ने रोगका बिरामी फेला पारिएको छ। पालिकाले नियमित स्वास्थ्य परीक्षण, खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिरहेको छ।”