इटहरीमा दमकल खरिदका लागि जनअभियान सुरु
इटहरी उपमहानगरपालिकामा नयाँ दमकल खरिदका लागि जनस्तरबाट अभियान सुरु गरिएको छ। स्थानीय युवा व्यवसायी समिर कार्कीको पहलमा समुदायको सहकार्य जुटाउँदै दमकल किन्ने अभियान अघि बढाइएको हो।
केही समयअघि भएको जेन्जी आन्दोलनका क्रममा नगरमा रहेको पुरानो दमकल जलेर नष्ट भएपछि इटहरी हालसम्म दमकलविहीन अवस्थामा रहेको छ। लामो समयसम्म नयाँ दमकल व्यवस्था हुन नसक्दा स्थानीय तहमा चिन्ता बढ्दै गएको छ।
यही अवस्थालाई ध्यानमा राख्दै कार्कीले व्यवसायी, सामाजिक संघ–संस्था तथा सर्वसाधारणको सहयोगमा रकम संकलन गरेर दमकल खरिद गर्ने योजना बनाएका छन्। उनका अनुसार अभियानको विस्तृत कार्ययोजना छिट्टै सार्वजनिक गरिनेछ।
उनले द्रुत रूपमा विस्तार हुँदै गएको इटहरीजस्तो शहरमा दमकल नहुनु जोखिमपूर्ण अवस्था भएको बताउँदै विपद् व्यवस्थापनका लागि तत्काल आवश्यक पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
स्थानीयवासीहरूले पनि यस अभियानलाई सकारात्मक रूपमा लिँदै सामुदायिक सहभागिताले शहरको सुरक्षा मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। आगलागी जस्ता आकस्मिक घटनामा प्रभावकारी नियन्त्रणका लागि दमकल अत्यावश्यक साधन भएको उनीहरूको भनाइ छ।

पालिका संचारकर्मी 







