रावाबेँसीमा ५ करोडको पुल निर्माण: २०८४ भित्र सम्पन्न गर्ने लक्ष्य
खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण कार्य सुरु भएको छ। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाबाट विनियोजन गरिएको करिब ५ करोड ११ लाख रुपैयाँ लागतमा पुल निर्माण अघि बढाइएको हो।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का प्रक्रिया सम्पन्न भई आरके देन्धुप जेभी सोलुखुम्बुसँग करिब २ करोड ८९ लाख रुपैयाँमा सम्झौता गरिएको छ। कार्यालय प्रमुख विनम दाहालका अनुसार सम्झौतापछि निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।
१५ मिटर लामो मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएको यस आयोजनाको काम २०८४ साल जेठभित्र सम्पन्न गर्ने योजना छ। पुल निर्माण भएपछि रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र वडा नम्बर ६ हौँचुरबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
पुलको औपचारिक शिलान्यास कोशी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले गरेका हुन्। उनले जिल्लाका विभिन्न स्थानमा पुलको आवश्यकता भए पनि लोचाखोलालाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको बताए।
निर्माण व्यवसायी बुद्धिबहादुर मगरले समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै निर्माण सामग्री तयारी अवस्थामा रहेको जानकारी दिएका छन्। स्थानीय जनप्रतिनिधिलाई पनि निर्माण कार्यको प्रभावकारी अनुगमन गर्न आग्रह गरिएको छ।
हालसम्म पुल अभावका कारण वर्षायाममा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने र काठको अस्थायी पुल बनाउनुपर्ने बाध्यता थियो। नयाँ पुल निर्माणसँगै यस क्षेत्रका बासिन्दाको दीर्घकालीन समस्या समाधान हुने विश्वास गरिएको छ।

पालिका संचारकर्मी 







