आजबाट बागमती प्रदेशसभाको बजेट अधिवेशन सुरु

पालिका संचारकर्मी
२४ चैत्र २०८२, मंगलवार १०:३२

मकवानपुर — बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले मंगलबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेका हुन्।

प्रदेशसभाको बैठक हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिकाको सभा हलमा बस्नेछ। यसअघि जेन(जी आन्दोलनका क्रममा हेटौँडा–१० स्थित प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक वैकल्पिक स्थानमा सारिएको हो। मर्मतपछि सो भवन प्रयोगका लागि तयार बनाइएको भए पनि हालका लागि सभा हलमै बैठक बस्नेछ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार प्रादेशिक संरचना निर्माणका लागि जग्गा व्यवस्थापन भएपछि सबै सरकारी भवन एकै स्थानमा निर्माण गर्ने योजना अघि बढाइएको छ। चालु आर्थिक वर्षकै बजेटबाट उक्त निर्माण कार्य सुरु गर्ने तयारी रहेको उनले बताए।

अधिवेशन सुरु भएको दुई हप्ताभित्र सभामुख चयन गरिने सरकारको तयारी छ। प्रवक्ता तामाङले सत्तारुढ दलहरूबीच यस विषयमा सहमति भइसकेको दाबी गरेका छन्।

यसअघि राप्रपाबाट सभामुख बनेका भुवन पाठकले जेन(जी आन्दोलनपछि राजीनामा दिएपछि पद रिक्त छ।

कांग्रेसभित्रको आन्तरिक विवादपछि इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेपश्चात् पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो।