बकैयामा एमाले कार्यकर्ताको चुनावी भेला: रामेश्वर रानालाई विजयी गराउने प्रतिबद्धता

पालिका संचारकर्मी
२८ माघ २०८२, मंगलवार १२:२३

मकवानपुर – जिल्ला निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बकैया गाउँपालिका वडा ५ र ६ मा नेकपा (एमाले) का अगुवा कार्यकर्ताहरूको चुनावी भेला सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनमा एमालेको निर्णायक जित सुनिश्चित गर्ने र बकैयामा पार्टीको पकड अझ मजबुत बनाउने निर्णय गरेको छ।

भेलामा नेकपा (एमाले) मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाले जनताको समस्यालाई मात्र भाषण वा कागजमा सीमित नराखी सिधै संसदसम्म पुर्‍याएर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले विकासलाई पहिलो प्राथमिकता दिने, जनतासँग जोडिएको नेतृत्व आफू भएको दाबी गर्दै सहभागीहरूलाई आश्वस्त पार्नुभयो। सहभागीहरूले रानालाई इमानदार, सादगीपूर्ण र परिणाममुखी उम्मेदवार भएको प्रतिक्रिया दिए।

पूर्व सांसद कृष्णप्रसाद दाहालले मकवानपुरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र राजनीतिक स्थायित्वका ठूला परिवर्तन एमालेकै नेतृत्वमा भएको स्मरण गराउँदै बाँकी विकासका काम पूरा गर्न फेरि सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो। उनले एमालेविरुद्ध फैलाइएका भ्रम र निराधार प्रचारलाई चिर्दै जनतामा सकारात्मक अभियान अघि बढाउन कार्यकर्तालाई निर्देशन दिनुभयो।

एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले अन्य दलहरूले जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउँदै रामेश्वर रानालाई जिताउन घर–घर पुगेर अभियानलाई तीव्र बनाउने निर्देशन दिनुभयो।

भेलाले बकैयामा नेकपा (एमाले) प्रति जनविश्वास अझ बलियो भएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा विकास, स्थायित्व र परिवर्तनको अभियान निरन्तरता दिन उम्मेदवारको जित सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।