मनहरी–५ स्थित भोजसिद्द माविको स्वर्ण जयन्ती, स्मारिका र स्वर्ण स्तम्भ निर्माण हुने

पालिका संचारकर्मी
२२ माघ २०८२, बुधबार १६:०९

मकवानपुर।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित श्री भोजसिद्ध माध्यमिक विद्यालयले स्थापना भएको पचास वर्ष पूरा भएको उपलक्ष्यमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ। विद्यालयले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ।

स्वर्ण जयन्ती समारोहलाई भव्य तथा अर्थपूर्ण बनाउन मनहरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। यसका साथै खुला म्याराथन प्रतियोगिता, अभिभावक घ्याम्पो फुटाइ प्रतियोगिता, रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने मनहरी गाउँपालिका–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो।

स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिनेछ भने विद्यालयको स्थापना कालदेखि हालसम्मको इतिहास, शैक्षिक उपलब्धि तथा योगदान समेटिएको स्मारिका प्रकाशन गर्ने तयारी पनि गरिएको छ।

स्वर्ण जयन्ती समारोहका प्रचार–प्रसार उपसमितिका संयोजक उमेश अधिकारीले विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्‍याएका शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायलाई समारोहमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेतीले विद्यालयको आधा शताब्दी लामो शैक्षिक यात्रालाई स्मरण गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा समग्र शैक्षिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।