भीमफेदीमा बाघको आतंक, गाउँमै पस्न थालेपछि स्थानीय त्रासमा
हेटौंडा। भीमफेदी गाउँपालिका–५ मा बाघको आतंक फैलिएको छ। वडा अन्तर्गत सोलाभाच, काफलचौर, दम्की र धुसेनी लगायतका क्षेत्रमा बाघ बारम्बार देखिन थालेपछि स्थानीयवासी त्रासमा परेका छन् । स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि जंगल मात्र नभइ बस्ती क्षेत्रमै बाघ देखिएको छ। बाघले गाईबस्तु मारेको घटना दोहोरिन थालेपछि पशुपालनमा क्षति पुगेको जनाइएको छ । स्थानीय समाजसेवी सानू थापाका अनुसार, बाघले सोलाभन्ज्याङमा दुई वटा बाख्रा, काफलचौरमा दुई वटा बाख्रा, दम्कीमा एक गाईको बाछा र धुसेनीमा एक बाख्रा मारेको हो। राति घर वरिपरि बाघ कराएको आवाज सुन्ने र बिहान जनावरको अवशेष भेटिने क्रम बढेपछि गाउँमा डरको वातावरण बनिएको उनले बताए । वडा अध्यक्ष जहारसिंह लामाका अनुसार, बाघले मारेको गाईबस्तुको क्षतिको मूल्यांकनका लागि डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगिसकेको छ। उनले सवडिभिजन अन्तर्गत पर्ने वन क्षेत्रमा देखिएको बाघको आतङ्कबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने र क्षतिपूर्तिका लागि पहल थालिएको जानकारी दिए ।

पालिका संचारकर्मी 






