सहकारीमै उज्यालो भविष्यः व्यवसायी दीपक तिमल्सिनाको प्रेरणादायी कथा

पालिका संचारकर्मी
९ चैत्र २०८१, आईतवार १३:०५

भक्तपुरको चागुनारायण नगरपालिका–८ का दीपक तिमल्सिना एक दशकदेखि होटल व्यवसायमा सक्रिय छन् । उनले व्यवसायिक यात्रा एक सामान्य चिया पसलबाट सुरु गरेका थिए । आज उनी आफ्नै होटल व्यवस्थित रूपमा सञ्चालन गरिरहेका छन् । पाँच वर्षदेखि व्यवस्थित होटल सञ्चालन गर्दै आएका तिमल्सिनाको सफलता मात्र व्यवसायमा होइन, आर्थिक व्यवस्थापनमा पनि देख्न सकिन्छ । उनको यो सफलतामा सहकारीको महत्वपूर्ण भूमिका रहेको छ । उनले आफ्नो ब्यवसाय सुरु गर्नका लागि सरसापट बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैया ऋण लिएका थिए । दीपक तिमल्सिना सहकारीलाई आर्थिक संकलन र व्यवस्थापनको प्रमुख माध्यम मान्छन् । उनले दुई वटा सहकारी संस्थामा दैनिक तीन हजार रुपैयाँ बचत गर्ने गरेका छन् । नियमित बचतको बानीले उनलाई व्यवसाय सञ्चालनमा सहजता मिलेको छ । सहकारीमा बचत गर्दा आवश्यक पर्दा झिक्न सकिने सुविधा उनी विशेष रूपमा प्रशंसा गर्छन् । “हाम्रोमा यस्तो समस्या छैन, सबै सहकारी एउटै हुँदैनन्,“ तिमल्सिना भन्छन् । कतिपय सहकारी संस्थाहरू सही व्यवस्थापन अभावमा धराशायी भएका छन्, जसले गर्दा कतिपयले सहकारीप्रति विश्वास गुमाएका छन् । तर, तिमल्सिनाले भने सहकारीमार्फत आफूलाई सहजता प्राप्त भएको अनुभव सुनाएका छन् ।

एक व्यवसायीका रूपमा तिमल्सिनाले सहकारीलाई आर्थिक सुरक्षा र व्यवसाय विस्तारको लागि उपयोग गरेका छन् । जब व्यवसायमा अतिरिक्त पूँजी आवश्यक पर्छ, उनले आफ्नै बचत रकम निकालेर लगानी गर्ने गरेका छन् । यसले उनलाई बैंक तथा अन्य संस्थाहरूबाट महँगो ब्याजदरमा ऋण लिनु नपर्ने सुविधा मिलेको छ । साथै, सहकारी सदस्यका रूपमा उनले व्यवसायिक चुनौतीहरू सामना गर्न सहज पाएका छन् । “गाह्रोसाह्रो पर्दा पनि सहकारी दुखको साथी बनेको छ,“ तिमल्सिना भन्छन् । उनले सहकारीलाई केवल पैसा राख्ने संस्था मात्र नभई, आर्थिक सहायता दिने अभिभावकका रूपमा हेर्ने गरेका छन् । दीपक तिमल्सिनाको अनुभव सहकारीको प्रभावकारिता झल्काउने एक उत्कृष्ट उदाहरण हो । सहकारी संस्थाहरू सही तरिकाले सञ्चालन भएमा व्यक्तिगत तथा व्यावसायिक आर्थिक सुधारमा मद्दत गर्न सक्छन् । नियमित बचत गर्ने बानीले तिमल्सिनालाई आर्थिक सुरक्षाको अनुभव दिलाएको छ, जुन भविष्यमा कुनै पनि आकस्मिक परिस्थितिमा ठूलो सहारा बन्न सक्छ ।
यसकारण, सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा समाजका धेरै सदस्यहरूको आर्थिक उन्नति हुने मात्र होइन, समग्र आर्थिक व्यवस्थापन प्रणाली नै सबल बन्नेछ । सहकारी बचतले दीपक तिमल्सिनालाई सफलता दिलाएझैँ, अन्य व्यवसायीहरूले पनि यसबाट प्रेरणा लिन सक्छन् ।