हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने

पालिका संचारकर्मी
६ फाल्गुन २०८१, मंगलवार ११:५६

हेटौँडा। ६ फाल्गुन २०८१, मंगलवार सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ ।आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । विगत ९ वर्षदेखि पटकरपटक आफ्नो रोप–वे लिलामीको उद्योगको असफल प्रयास गर्दै आएको थियो । ९ वर्षअघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास हालसम्म सफल हुन सकेको थिएन । उद्योगले पटक–पटक लिलामी प्रक्रिया अघि बढाएर बोलपत्र आह्वान गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको थिएन ।”खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेक पटक लिलामी दर पनि घटाउँदै आएको थियो । बन्द अवस्थामा रहेको रोप–वे का उपकरणहरू लिलामीका लागि पहिलो पटक सूचना आह्वान गर्दा उद्योगले उक्त रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३५२ रुपैयाँ कायम गरिएको थियो । खरिदकर्ताको बोलपत्र नपरेपछि उद्योगले दोस्रो पटक मूल्य घटाएर लिलामीका लागि लिलामी मूल्य ४ करोड ६१ लाख रुपैयाँ निर्धारण गरेको थियो । सो समयमा पनि रोप–वे लिलामी प्रक्रियामा खरिदकर्ताले बोलपत्र परेको थिएन ।”२०७४ मा पुनः मूल्य घटाएर लिलामीको सूचना जारी गरेको उद्योगले २ करोड ८० लाख रुपैयाँ कायम गरेर बोलपत्र आह्वान गरेको थियो । तर, सो समयमा पनि रोप–वे लिलामीमा खरिदकर्ताको बोलपत्र नपरेपछि बन्द रोप–वे हालसम्म जीर्ण र अलपत्र अवस्थामा रहँदै आएको थियो ।
“हेटौँडा–९ मा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुन ढुङ्गा ढुवानीको लागी प्रयोगमा ल्याएको रोप–वे बिक्री गरेको हो । उद्योग प्रशासनले बाराको लिपनीमाल स्थित श्री पि।एस एण्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको जनाएको छ । रोप–वे बिक्री गर्ने विषयमा गत पुस ७ गते सम्झौता भएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिए ।”उनका अनुसार तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति अनुसार उद्योगले पहिलो किस्ता बापतको १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँ समेत प्राप्त गरिसकेको छ । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिना भित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको उनको भनाई छ ।
“रोप–वे बिक्रीबाट प्राप्त भएको रकम उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा खर्च गर्ने सञ्चालक समितिले निर्णय गरेको पनि सूचना अधिकारी आचार्यले जानकारी दिए ।”वर्षौँदेखि सञ्चालन हुन नसकेको सो रोप–वेका कारण मानव बस्ती र विद्यालयका लागि जोखिम बनेर बसेको छ । उद्योगको रोप–वे का डब्बाहरू हेटौँडाबाट भीमफेदी गाउँपालिकाको भैँसे खानीसम्म तारमा झुन्डिरहेको अवस्थामा रहेको देख्न सकिन्छ । बेवारिसे अवस्थामा झुन्डिएका रोप–वेका डिब्बाहरूले मानव बस्ती नै जोखिममा पारेको देखिन्छ ।

“हेटौँडा सिमेन्टले पनि खानी क्षेत्रबाट चुनढुङ्गा ओसार्न २०४२ सालमा रोप–वे सञ्चालनमा ल्याएको थियो । उद्योगले २०४२ सालबाट भैँसेखानीबाट लामसुरेस्थित कारखानासम्म ११ किलोमिटर लम्बाइको रोप–वे चुन ढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको थियो । प्रतिघण्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोप–वेको सुरुमा १६५ वटा बकेट ९क्यारियर० रहेको थियो । रोप–वे बिग्रिएपछि त्यसका क्यारियर पनि झर्दै गए जसका कारण हाल त्यसमा १ सय ४० जति बाँकी रहेको छ ।”विगतमा यातायातका साधनहरूको सुविधा नहुँदा उद्योगको चुन ढुंगाखानीबाट ढुङ्गा ओसार्नको लागि सो रोप–वे को प्रयोग हुने गरेको थियो । तर, पछिल्लो चरण यातायातको साधनहरूको उपभोगमा सहजता आएसँगै उद्योगले रोप–वे बाट चुन ढुङ्गा ल्याउन बन्द गरेको थियो । २० वर्ष ती डिब्बा हेटौँडा सिमेन्ट उद्योगको लागि चुन ढुङ्गा ओसार्न प्रयोग भए पनि २०६२ सालदेखि भने पूर्ण रूपमा बन्द छ ।-सो रोप–वे मा झुन्डिएका कतिपय डिब्बामा अझै पनि ढुङ्गाहरू भरिएको अवस्थामा रहेको छ । २०६० सालमा आएको बाढी पहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भएको थियो । करिब १० करोड लगानीमा निर्माण भएको रोप–वेको टावरमा बाढीले क्षति पुर्याएपछि पूर्ण रूपमा बन्द भइएको थियो ।