बागमती गाउँपालिकाको परिचय (मकवानपुर )
मकवानपुर । बागमती गाउँपालिका संघीय गणतन्त्र नेपालको ७ वटा प्रदेश मध्ये साविकको प्रदेश नं ३, हालको बागमति प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा रहेका १० स्थानीय तहहरू मध्ये एक स्थानीय तह हो । यो गाउँपालिका सिन्धुली र मकवानपुर जिल्लाको सीमा नदी बागमतीको पश्चिम किनारामा रहेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सिन्धुली –उदयपुर – चतरा हुदै धरान जोडने निर्माणाधीन वैकल्पिक राजमार्गको मकवानपुर जिल्लाको अन्तिम पूर्वी विन्दुमा यो गाउँपालिका पर्दछ । हेटौंडा बजारबाट यो गाउँपालिका करीव ५० कि.मी. को दुरीमा रहेको छ । बागमती गाउँपालिका भित्र ९ वटा वडाहरु रहेका छन् । १० वर्षे जनयुद्धको अन्तिम लडाई भएको स्थान झुरझुरे पनि बागमती गाउँपालिका भित्र नै अवस्थित रहेको छ । जुन स्थान बागमती गाउँपालिकाको सदरमुकाम हो ।

नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेको मन्त्रि परिषद निर्णयबाट मकवानपुर जिल्लाको स्थानीय तह पुनः संरचना गरीदा साविक स्थानीय निकाय तर्फका ३ गा.वि.स.हरू (राईगाउँ, फापरबारी र बेतिनी ) मिलाएर नयाँ नामाकरण सहित गठन भएको बागमती गाउँपालिका को वर्तमान क्षेत्रफल ३११.७९ वर्ग किलोमिटर रहेको छ । जम्मा ९ वटा वडामा विभाजित यो गाउँपालिकाको पूर्वमा सिन्धुली जिल्ला, उत्तरमा ललितपुर र काभेपलान्चोक जिल्ला, दक्षिणमा प्रदेश नं. २ को रौतहट जिल्ला र पश्चिक तर्फ मकवानपुर जिल्ला कै बकैया गाउँपालिका अवस्थित छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या ३०४२५ र घरधुरी ६४६० रहेको छ । विभिन्न जातजाति, भाषा, धर्म ,संस्कृति मान्ने समुदायको बसोबास रहेको यो गाउँपालिका लाई विविधता र सामाजिक सदभावको दृष्टिले नमूनाको रुपमा लिन सकिन्छ।
पेशागत रूपमा यहाँका अधिकांश परिवारको जीविकोपार्जनको आधार कृषि र पशुपालन हो । यहाँ कुनै रोजगारीमूलक उद्योग तथा व्यवसाय नरहेकोले धेरै युवाहरू कृषि कार्य बाहेकको समयमा हेटौंडा र काठमाण्डौं तर्फ रोजगारीको लागि जाने गरेका छन् । भु–उपयोग संरचनालाई विश्लेषण गर्ने हो भने यस बागमती गाउँपालिकामा भुमिहिन घर धुरी बढी भएकोले स्वभाविक रुपमा अरुको घर जग्गा कमाउनेको घर परिवार बढी देखिन्छ । विकास निर्माणमा अग्रगामी छलाङ मारेको यस गाउँपालिकामा स्वास्थ्य, खानेपानी, शिक्षा, इन्टरनेट जस्ता आधारभुत आवश्यकताहरु पूनः रुपमा संञ्चालनमा छन् । एकै वडा भित्र विभिन्न टोल र वस्ति रहेका छन् । यस गाउँपालिका भित्र मुख्यतया तामाङ, राई, मगर, माझी, ब्राहमण, क्षेत्री, दलित, नेवार र अन्य जनजातीको मिश्रित बसोबास रहेको छ । यस गाउँपालिका भित्र वन जङ्गलको विकास रहेको कारण वनको संरक्षण र उपभोगको अवस्था सन्तुलित छ । मकवानपुर जिल्लाको सबै भन्दा पुरानो बजारको रुपमा परिचित फापरबारी बजार यसै गाउँपालिकाको वडा नं. ६ मा पर्दछ । धरान, चतरा राजमार्ग, पाथिभरा ,लामिटार ,भुवनचुली, राईगाउँ र बेतिनी जस्ता स्थानहरु यस गाउँपालिकाको पर्यटकिय स्थानको रुपमा लिन सकिन्छ ।

बागमती गाउँपालिका भौगोकि विविधताले विकट क्षेत्रको रुपमा रहेको छ । यस गाउँपालिकाको मुख्य समस्या भनेको नै बर्खाको समयमा बागमतीमा खहरे खोला आउँनु हो । खहरे खोला आएर विभिन्न जनधन क्षति हुने गरेको छ । अहिले सम्म यस गाउँपालिकाको समस्याको सामाधान गाउँपालिकामा आउँने गरेको बजेट बाट हुने गरेको गाउँपालिकाको अध्यक्षको भनाई छ । तर अहिले सम्म पुर्ण रुपमा यस समस्याको सामाधान हुन सकेको छैन् ।


पालिका संचारकर्मी 






