मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग डेढ महिना बन्द

पालिका संचारकर्मी
५ फाल्गुन २०८१, सोमबार १०:२४

हेटौँडा । मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा बन्द गरिएको छ । महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा आइतबारबाट डेढ महिनाका लागि बन्द गरिएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ को कार्यालयले आइतबारदेखि आगामी चैतको २१ गतेसम्म उक्त सडक हुँदै आउने जाने सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका–५ को महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडक अन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो । उहाँले उक्त सडक भएर चल्ने सवारीका साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकको मकवानपुरतर्फ पनि सडक स्तरोन्नतिको कार्य भइरहेको बताउनुभयो ।

यस्तै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग कुलेखानी–फाखेल–फर्पिङ सडकको मकवानपुर र काठमाडौँतर्फको भागहरूमा पनि बागमती प्रदेश सरकारको लगानीमा सडक कालोपत्रेलगायत स्तरोन्नतिको कार्यहरू भइरहेको छ ।