मकवानपुरको पाँच खानेपानीमा दुई करोड चौहत्तर लाखको ठेक्का आह्वान

पालिका संचारकर्मी
४ फाल्गुन २०८१, आईतवार १६:४६

मकवानपुर । मकवानपुर जिल्लाको संघीय निर्वाचन क्षेत्र नंं २ अन्तर्गत ५ वटा छुट्टा छुट्टै खानेपानी आयोजनाका लागि २ करोड ७४ लाख ५८ हजारको ठेक्का आह्वान भएको छ । विभिन्न खानेपानी योजनाहरु सम्पन्न गर्ने गरी मकवानपुर २ बाट निर्वाचित साँसद महेश कुमार बर्तौलाको पहलमा यी आयोजनाहरुमा चालु आ.व.मा संघीय खानेपानी मन्त्रालयबाट विनियोजित बजेट कार्यक्रमहरुबाट यो ठेक्का आह्वान भएको हो ।

एमाले नेता एवम् मुख्य सचेतक बर्तौलाको सचिवालयले दिएको जानकारी अनुसार कालीदेवी खानेपानी आयोजना थाहा नगरपालिका वडा नं. ९ को चित्लाङ खोनपानीको लागि रु. ३० लाख २९ हजार, इन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडा स्थित रामचन्द्र भञ्ज्याङ खोनपानी आयोजनाको लागि रु. ४७ लाख २६ हजारको ठेक्का खुलेको हो ।

बर्तौलाको स्वकीय सचिव आशिष अस्लामी मगरको अनुसार भीमफेदी गाउँपालिकाको वडा नंं. ९ को बरदेउ खानेपानी योजनाको लागि रु. १ करोड ७ लाख ७३ हजार बराबरको ठेक्का खुलेको छ । त्यसैगरी नाकछेडा खानेपानी योजना थाहा नगरपालिका ११ को नाकछेडा खानेपानीको लागि रु. ४० लाख ६१ हजार र मनहरीको ९ नम्बरको माथिल्ले ज्यामिरे स्थित सुवेदीटोल खोनपानी योजनाको लागि रु. ३० लाख २८ हजारको ठेक्का आह्वान भएको छ ।