हेटौंडा उपमहानगरपालिकाको संक्षिप्त परिचय

पालिका संचारकर्मी
१ फाल्गुन २०८१, बिहीबार ११:०४

हेटौंडा । महाभातकालीन किम्बदन्ती अनुसार पाण्डवहरु वनबासको क्रममा आमा कुन्तीको सहमतिमा भीमले राक्षस हिडिम्बासित विहे गरेपछि हिडिम्बाको कोखबाट जन्मेको पुत्र घटोत्कच र हिडिम्बाको वासस्थान यसै स्थानमा भएको नाताले उनीहरुकै नामबाट यस ठाउँको नाम हेटौडा रहेको भन्‍ने जनविश्वास छ । हिडिम्बा र शक्ति स्वरुपिणी माता भुटनदेवीको ऐतिहासिक तथा धार्मिक पृष्ठमूमिमा मानव बसोबासको लागि योग्य शहरको आधारभूत पूर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढिरहेको हेटौंडा अधिराज्यका २ राष्ट्रिय राजमार्गहरु महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थलमा अवस्थित छ । नेपालको संविधान २०७२ अनुसारको नयाँ संरचना अनुरुप मकवानपुर जिल्लाका दश स्थानीय तह मध्येको एक हेटौडा उपमहानगरपालिका बागमति प्रदेशको राजधानीको रुपमा अवस्थित रहेको छ । नेपालको मध्य भागमा रहेको हेटौंडालाई वि.स. २०२६ सालमा नगर पञ्चायत घोषणा गरिएको थियो । २०७१ साल मंसिर १६ गतेको नेपाल सरकारको निर्णयबाट हेटौंडा उपमहानगरपालिका स्थापना भयो ।

हेटौंडाका प्रमुख विशेषताहरु

हेटाैंडा उपमहानगरपालिका देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल हाे । त्यस्तै राजधानीबाट नारायणगढ हुदै २२४ कि.मि. नौबिसे दामन हुदै १३२ कि.मी. तथा राजधानी बाट जोड्ने द्रुतमार्ग हदै ७६ कि.मि को दक्षिण दूरीमा अवस्थित रहेकाे छ । त्यसै  गरि चुरे र महाभारत पर्वतको फेदीमा हेटाैंडा उपमहानगरपालिका  अवस्थित छ । हेटाैंडा उपमहानगरपालिकामा  उष्ण तथा समशितोष्ण हावापानी पाइन्छ ।  मकवानपुर जिल्लाको सदरमुकाम नै हेटाैंडा उपमहानगरपालिका हाे ।  देशको तेस्रो ठूलो औद्यौगिक नगर भनेर पनि हेटाैंडा उपमहानगरपालिका लाई चिनिने गरिन्छ । भारतसंगको प्रमुख नाका बीरजन्गसंग राजधानी जोड्ने एक मात्र द्वार हेटाैंडा उपमहानगरपालिका हाे ।

भौगोलिक अवस्थिति

हेटाैंडा उपमहानगरपालिकाकाे उचाईः समुद्र सतहबाट ३०० देखि १८६० मिटर उचाइमा अवस्थित रहेकाे छ ।  प्रशासनिक विभाजन अनुसार यस उपमहानगरपालिका भित्र जम्मा वडा संख्याः १९ वटा रहेकाे छ । यस उपमहानगरपालिका काे क्षेत्रफल करिब  २६१ वर्ग कि.मी. मा फैलिएर रहेकाे छ ।

सिमाना

हेटाैंडा उपमहानगरपालिकाकाे पूर्व तर्फ बकैया गाउँपालिका रहेकाे छन् भने पश्चिम मा  मनहरी र राक्सिराङ्ग गाउँपालिका अविस्थत रहेकाे छ । त्यस्तै  उत्तर तर्फ मकवानपुर गढी, भिमफेदी र कैलाश गाउँपालिका र दक्षिण मा  पर्सा जिल्ला र बारा जिल्ला रहेकाे छ ।

प्रमुख नदीहरु

हेटाैंडा उपमहानगरपालिका मा प्रमुख नदीहरू राप्ती,कर्रा,सामरी,चकरी खोला रहेकाे छ ।

जनसंख्याको विवरण

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार उपमहानगरपालिका कूल जनसंख्या १,९३,५७६ र घरधुरी संख्या ४६,५६६ रहेको छ ।