मकवानपुरमा ट्रिपर दुर्घटना, चालकको मृत्यु

पालिका संचारकर्मी
२४ माघ २०८१, बिहीबार १०:४८

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ खोटार स्थित भित्री सडकखण्डमा सिवम सिमेन्ट फ्याक्ट्रीको ढुङ्गा खानीबाट ढुङ्गा लोड लिई आउँदै गरेको ट्रिपर दुर्घटना भएको छ।

दुर्घटनामा परी ट्रिपर चालक मकवानपुरगढी गाउँपालिका–७, माथिल्लो जिम्बर निवासी अन्दाजी २४ वर्षीय देबेन्द्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ। बा २ क ६६६४ नम्बरको ट्रिपर ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किँदा पल्टिएको थियो।

मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो। पोष्टमार्टम पछि शव मृतकका बुबा इन्द्र बहादुर लुङ्वाले बुझी लगेका छन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।