कान्छो बालमैत्री वडा घोषणा हुँदै हेटौंडा–१४
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ सबैभन्दा कान्छो बालमैत्री वडा घोषणा हुने भएको छ । यसअघि हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा वडाहरु निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भैसकेका छन् । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ २५ गते शुक्रबार हेटौंडा उपमहानगर वडा नम्बर– १४ लाई बालमैत्री वडा घोषणा गरिन लागिएको वडाका वडाअध्यक्ष दिपक खड्काले बताए ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडा अध्यक्ष खड्काले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४६ वटा सुचकहरु १०० प्रतिशत, १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम नतिजा हाँसिल भएको बताए ।
वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार ४ सय ९४ रहेको छ । जसमा १ हजार २ सय ६७ बालक र १ हजार २ सय २७ बालिका रहेका छन् । वडामा सामुदायिक र सँस्थागत र बाल विकास केन्द्र सहितका ६ वटा विद्यालयहरु सन्चालनमा रहेका छन् ।
साथै समुदाय स्तरमा २२ वटा बालसमुहरु , र १ वडा बालसन्जाल रहेको छ । जसमा ५ सय ५० जना बालबालिकाहरु आवद्ध रहेका छन् । त्यस्तै विभिन्न संरचनात्मक समितिहरुमासमेत गरि ५ सय ७० जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ । यस अभियानमा १२ वटा बालविवाह रोकिएको छ भने विभिन्न बालश्रमिकको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ ।
वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सन्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह, वन समुह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रीयाशिल छन् । यसाघि यस वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ ।
२०७९ साल भदौ २४ गते हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरिएको थियो । २०७९ साल मंसिर २० गते सरोकारवाला निकायको उपस्थितिमा अभिमुखिकरण र प्रतिवद्धता जाहेर गर्दै अभियान सुरु गरिएको थियो । यसअघि हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा वडाहरुलाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।
त्यस्तै आउँदो फाल्गुन १ गते हेटौंडा उपमहानगरपालिका बालमैत्री नगर घोषणा हुने भएको छ ।

पालिका संचारकर्मी 






