दोस्रो कमाने महोत्सव– २०८१ हुँदै

पालिका संचारकर्मी
३ पुष २०८१, बुधबार १६:२१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमानेमा, दोस्रो कमाने महोत्सव–२०८१ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा–८ को चालु कार्यक्रम अन्तर्गत “स्थानिय पर्यटन, स्थानिय सांस्कतिक प्रबर्द्धन, स्थानिय व्यापार प्रदर्शनी ” भन्ने मुल नाराका साथ आउँदो पुष ११,१२ र १३ गते महोत्सवको आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

वडा भित्र रहेका स्थानिय कला सँस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदशनी गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको वडाका अध्यक्ष राम थापाले बताए । ‘साना उद्योग तथा महिला उद्यमीरुको उत्पादनलाई बजारीकरण एवम् प्रदर्शनी मार्फत वडामा रहेका १९ वटै टोल विकास संस्थाको उत्पादनले बजारमा आफनो पहिचान गराउन सकोस भन्ने हाम्रो मुख्य उदेश्य हो ।’ अध्यक्ष थापाले भने ।

साथै कार्यक्रमलाई थप आकर्षक बनाउन वडा भित्र रहेका २१ वटा बाल समुहहरुको विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुने बताइएको छ । वडामा हुने यस महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समुहहरुका सीपलार्ई उजागर गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्नेसमेत विश्वास लिइएको छ ।

कार्यक्रम सम्पन्न गर्न कुल ८ लाख रुपैँया लागत लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ ।