प्रहरी उपरीक्षक खड्कासंग मउवासंघको स्वागत तथा छलफल
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरका नव आगन्तुक प्रमुख तथा प्रहरी उपरीक्षक विश्वराज खड्कासंग छलफल कार्यक्रम आयोजना गरेको छ । आइतबार मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा छलफल कार्यक्रम गरेकोे हो ।
मउवासंघका अध्यक्ष गुप्ताले संघले समाजिक भूमिका अन्तर्गतका क्रियाकलापहरु गर्दै आएको, विपदहरुमा सक्रिय रहेको, कोभिड महामारीको समयमा विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरी बिरामीलाई निःशुल्क उपचार गर्नेगरी पल्पसा आइसोलेशन संचालन गरेको बताउँदै उद्योगी र व्यवसायीका समस्याहरु बारे अवगत गराए ।
छलफलमा हेटौंडा बजारको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन आवश्यक रहेको, अवैद्य सामानहरुको ओसारपसारलाई नियन्त्रण गर्नु पर्ने, जिल्लाका प्रमुख नाकामा निगरानी बढाउनु पर्ने, अनावश्यक रुपमा एउटै रुटमा धेरै ठाउँमा सवारी चेकजाँच गरी नागरिकलाई झन्झट थप्न नहुने जस्ता विषयहरुमा चर्चा गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले जिल्लाका सम्पूर्ण नागरिकको जिउधनको सुरक्षामा आफू क्रियाशील रहने, बाढीपहिरोले भत्काएका सडकहरु पूनः प्रयोगमा ल्याउन सुरक्षा निकाय तल्लिन रहेको, काठमाडौंबाट हेटौंडा आउने सडक अन्तर्गत महालक्ष्मी खोलाको डाइभर्सन बनाइसकेको र कुलेखानीमा डाइभर्सन गरेर आइतबार नै सडक प्रयोगमा ल्याइने, कान्तिलोकपथमा पनि काम भइरहेकाले दुईतीन दिनमा संचालनमा आउने, मकवानपुर जिल्लाका पूर्व प्रहरी प्रमुखहरुसंग पनि सल्लाह लिई कार्यसम्पादन गर्न गइरहेको, आफूले कार्यभार सम्हालिसकेपछि बिलबिजक नभएका सुन एक पटक ८ केजी ३०० ग्राम र अर्को पटक ४९० ग्राम गरी दुई पटक सुन पक्राउ गर्न सफल भएको, बिलबिजक नभएका जुनकुनै सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने प्रहरीको जिम्मेवारी रहेको, हेटौंडा बजार क्षेत्रको सिसिटिभी थप प्रभावकारी बनाउन आवश्यक देखिएको, ट्राफिक लाईटको आवश्यक्ता देखिएको र मकवानपुर जिल्लामा व्यवसायी, बुद्धिजिवी, राजनैतिक दल तथा नागरिकको माझमा सुरक्षा प्रवन्धको व्यवस्थापन गर्न सहज हुने विश्वास लिएको बताए ।
कार्यक्रममा संघका महासचिव दिपक उप्रेती, सल्लाहकार सरोज खनाल, पूर्व अध्यक्ष अरुणराज सुमार्गी, संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, कार्यसमिति सदस्यद्वय जगदिश दहाल र तेजराज अधिकारी लगायतले मन्तव्य राखेँ ।

पालिका संचारकर्मी 






