रातोमाटे चेकपोष्टबाट ३ जना भारतीय नागरिक पक्राउ, ३१ लाख बराबरको अवैध सामान बरामद
हेटौंडा । अवैध रुपमा भन्सार छलेर लत्ताकपडा तथा विभिन्न सामान ल्याउने ३ जना भारतीय नागरिक हेटौंडामा पक्राउ परेका छन्। हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडा आउँदै गरेको WB49N2178 नम्बरको भारतीय यात्रु वाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको सामान भेटिए पछि ३ जना भारतीय नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बस चालक पश्चिम बंगाल मदेनिपुर जिल्ला ग्राम तमलुकका ३१ वर्षीय सदाम खान, सोही बसको अर्का चालक पश्चिम बंगाल वंकुरा ग्राम रतनपुरका ३८ वर्षीय काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर ग्रामका ३० वर्षीय जयदेव हेमराम रहेका छन्। प्रहरीले आइतबार बेलुका ०७ः३० बजेको समयमा बिशेष सुचनाको आधारमा रितपुर्वक खानतलासी पुर्जी दिई शरीर तथा बसको खानतलासी गर्दा बसको बिभिन्न भित्री भागमा फल्स बटम बनाई अवैध भन्सार छली र चोरी पैठारी गरी ल्याईएका लत्ताकपडा तथा विभिन्न सामान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जसमा, लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मौज मस्ती ड्रोड लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, नोमन लेखेको ग्यास लाईटर ५ थान, हिट लेखेको ग्यास लाईटर २ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, नोमन लेखेको किड १० थान, अरमान लेखेको किड २ थान, नोमन लेखेको ठुलो प्याकेट १० थान र पम्प ५ थान गरि करिब ३१ लाख बराबरको सामान बरामद गरिएको बताइएको छ। प्रहरीका अनुसार बरामद गरिएको समान, बस र ३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।


पालिका संचारकर्मी 






