आज भीमफेदीमा भीमसेन जात्रा मनाईंदै
हेटौंडा । मकवानपुरको पौराणिक ऐतिहासिक भीमफेदीमा भीमसेन जात्रा आज मंगलबार मनाईंदै छ । मकवानपुरको भीमफेदी र भैंसे बजारमा कृष्णजात्रा भव्य रुपमा मनाउने गरिएको हो ।
हरेक वर्ष मनाईंने ऐतिहासिक उक्त जात्राप्रति यसपालि पनि स्थानिय उत्तिकै उत्साहित देखिएको भीमसेन जात्रा सञ्चालन तथा ब्यवस्थापन समिति अध्यक्ष ईश्वरमान श्रेष्ठले बताए । उनका अनुसार सोमबार राति करिब ९ बजदेखि ११ बजेसम्म स्थानियको उपस्थितिमा देवता स्थापना गरिएको थियो । भीमफेदीमा हुने त्रिखण्डी जात्रा, कृष्ण जात्रा तथा भीमसेन जात्राको लागि भीमफेदी गाउँपालिकाले हरेक बर्ष बजेट छुट्टाउने गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । धर्म, संस्कृति र सम्पदा जोगाउनु स्थानीय सरकारको दायित्व रहेको अध्यक्ष लामाले बताए ।
भीमफेदीको नामाकरणको इतिहाससँग गाँसिएको भीमसेन मन्दिर पहिले चिसापानीगढी मुनि फेदी, पारी वजारमा थियो । वि.स. २०११ सालको वाढीले वगाई अलि तल ल्याई पुरिएको अवस्थामा फेला परेपछि मूर्तिलाई खनेर निकाल्न खोज्दा जति गहिरो खन्यो उति नै तल जाने भई निकाल्न नसकी त्यही खनिएको गहिराई वरीपरि सिंढी र पर्खाल बनाई मूर्ति भएको ठाउँमा मन्दिर बनाई राखिएको छ । यो ठाउँमा पछि चल्तीमा आएको बजारमा नयाँ मन्दिर बनाई मूर्तिको प्रतिस्थापना गरी जात्रा संचालन गरिदै आएको हो ।

पालिका संचारकर्मी 






