कसले बनाए आईफोन ?

पालिका संचारकर्मी
७ भाद्र २०८१, शुक्रबार १३:०७

काठमाडौं । आजभन्दा १७ वर्षअघि ९ जनवरी २००७ मा एप्पलले आफ्नो पहिलो आईफोन सार्वजनिक गरेको थियो । त्यसबेला स्मार्टफोनको बजारमा ब्ल्याकबेरीको वर्चस्व थियो । ब्ल्याकबेरीलाई प्रतिस्पर्धा गर्ने अर्को कुनै कम्पनी जन्मिएला भन्ने मानिसहरूले सायदै कल्पना गरेका थिए । साढे आठ करोडभन्दा बढी ग्राहक भएको ब्ल्याकबेरी कम्पनीको फोन बोक्ने सोख त्यसबेला प्रायः सबैको थियो ।

ब्ल्याकबेरीको फोन बोक्नुलाई सान अथवा उच्च दर्जाको व्यक्तिका रूपमा हेरिन्थ्यो । सरकारी अधिकारी, धनाढ्य, व्यापारी, ठूला कम्पनीका कर्मचारी यी सबैले त्यसबेला ब्ल्याकबेरीकै स्मार्टफोन प्रयोग गर्थे । ९ जनवरी २००७ मा स्टिभ जब्सले जब स्टेजमा चढेर आईफोन सार्वजनिक गरे, तब स्मार्टफोनको परिभाषा नै फरक भइदियो । त्यसअघि सन् २००१ मा एप्पलले बजारमा आईपड (गीत संगीत सुन्न मिल्ने डिभाइस) ल्याएको थियो । आईपडले बजारमा राम्रो प्रभाव पारेपछि सन् २००३ मा कम्पनीले आफ्नै आईट्युन म्युजिक स्टोर प्लेटफर्म सुरु गर्‍यो । यसले पनि आईपडलाई क्रान्तिकारी प्रडक्टका रूपमा स्थापित गर्न सहयोग गर्‍यो ।

९ जनवरी २००७ मा स्टिभ जब्स नयाँ प्रडक्ट सार्वजनिक गर्न स्टेजमा चढे । र, सन् १९८४ मा सार्वजनिक भएको म्याकले कम्प्युटर उद्योग र २००१ मा सार्वजनिक भएको आईपडले संगीत उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको कुरा खुलेर सुनाए । अनि, अब सार्वजनिक हुने डिभाइसले स्मार्टफोनको संसार परिवर्तन गर्नेछ भन्ने सङ्केत दिए । “आज हामी तीन ओटा क्रान्तिकारी प्रडक्ट सार्वजनिक गर्दैछौं,” स्टिभ जब्सले १७ वर्षअगाडि पहिलो आईफोन सार्वजनिक गर्दै भनेका थिए, “पहिलो प्रडक्ट हो, चौडा स्क्रिन र टच कन्ट्रोल भएको आईपड । दोस्रो हो, क्रान्तिकारी मोबाइल फोन र तेस्रो प्रडक्ट हो, ब्रेकथु इन्टरनेट कम्युनिकेसन डिभाइस ।”

उनको यो स्पिचपछि केहीबेर लगातार ताली बजिरह्यो ।

सबैले यी तीनै ओटा डिभाइसले बजार कब्जा गर्ने अनुमान लगाइसकेका थिए । त्यसअघि एप्पलले बजारमा ल्याएका प्रडक्ट जति उपयोगी सावित भएका थिए, तिनै डिभाइसलाई परिमार्जन गरी कम्पनीले नयाँ प्रडक्ट ल्याएको छ भन्ने त्यहाँ उपस्थित धेरैको अपेक्षा थियो । केही समयसम्म लगातार बजिरहेको तालीलाई रोक्दै उनले अगाडि बोल्न सुरु गरे ।

“यी तीन ओटा कुरा आईपड, फोन र इन्टरनेट कम्युनिकेटर,” उनले लगातार यही वाक्य तीन पटक दोहोर्‍याए ।

यतिबेला त्यहाँ उपस्थित सबैको मुटुको धड्कन बढ्दै गइरहेको थियो । सबैले यी प्रडक्टको अरू विशेषता र कस्तो हुन्छ होला भन्ने कल्पना गरिरहेका थिए । उनले लगातार तीन पटक उही वाक्य दोहोर्‍याएपछि भने, “यी तीन ओटा छुट्टाछुटै डिभाइस होइनन्, यी विशेषता भएको अब एउटै डिभाइस हुनेछ । र, त्यसलाई हामी आईफोन भन्दै छौं ।”

उक्त फोन सार्वजनिक भएको छ महिनापछि अर्थात् २९ जुन २००७ देखि बजारमा बिक्रीका लागि राखियो । त्यसपछिको कथा हामीले देखिरहेकै छौं ।

कसले डिजाइन गरेका हुन् आईफोन ?

पहिले–पहिलेका आईफोनमा एप्पलको लोगोको तल आईफोन क्यालिफोर्नियामा डिजाइन भएको र चीनमा एसेम्बल भएको उल्लेख हुन्थ्यो । पछिल्लो समय बजार आएका आईफोनमा पछाडिपट्टि ग्लास समावेश गरिएको हुन्छ । यसमा लोगो बाहेक कुनै टेक्स्ट राखिएको हुँदैन ।

यद्यपि आईफोनको बक्समा भने ‘डिजाइन इन क्यालिफोर्निया’ र ‘एसेम्बल इन चाइना’ लेखिएको देख्न सकिन्छ ।

सबैभन्दा पहिले आईफोनको डिजाइन र विकास एप्पलका सह–संस्थापक स्टिभ जब्सको नेतृत्वमा गरिएको थियो । उनैले आईफोनको परिकल्पना गरेको बताइन्छ । वाल्टर आइज्याक्सनले लेखेको स्टिभ जब्सको जीवनीमा आईफोन डिजाइन गर्ने टिममा को–को थिए भन्ने उल्लेख गरिएको छ ।

जब्सको नेतृत्वमा आईफोन डिजाइन गर्ने जोनाथन आइभ एक हुन् । जोनि आइभका रूपमा चिनिने उनी त्यसबेला एप्पलका प्रमुख डिजाइनर थिए । उनले आईफोनको हार्डवेयर डिजाइनमा प्रमुख भूमिका खेलेका थिए ।

आइभले आईफोनको प्रारम्भिक डिजाइन अवधारणाबाट यसको अन्तिम उत्पादनसम्मको जिम्मेवारी सम्हालेका थिए । उनी एप्पलको ‘इन्डस्ट्रियल डिजाइन टिम’ का प्रमुख थिए । त्यस्तै आईफोनको डिजाइनलाई सरल, आकर्षक, र प्रयोगकर्ता–मैत्री बनाउनमा उनको ठूलो भूमिका रहेको बताइन्छ ।

त्यस्तै सफ्टवेयर इन्जिनियर स्कट फोर्स्टलले पनि आईफोन डिजाइन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले आईफोनको सफ्टवेयर इन्टरफेस ‘आईओएस’ को विकास गरेका थिए । उनले आईफोनको प्रयोगकर्ता अनुभवलाई मध्यनजर गर्दै भिन्न किसिमको ओएस विकास गर्ने नेतृत्व लिएका थिए ।

कसरी बन्छ आईफोन र ?

सबैभन्दा पहिले आईफोनको रिसर्च एन्ड डेभलपमेन्टको काम अगाडि बढ्छ । त्यसपछि आईफोनको डिजाइन क्यालिफोर्नियाको कुपर्टिनोमा अवस्थित एप्पलको मुख्यालयमा हुन्छ । यस टिमले आईफोनको हार्डवेयर, सफ्टवेयर, र प्रयोगकर्ता अनुभवलाई डिजाइन गर्छ । एप्पलका प्रमुख इन्जिनियर, डिजाइनर, र प्रोग्रामरहरू मिलेर डिजाइनलाई मूर्त रूप दिन्छन् ।

प्रोडक्सन र एसेम्बली

आईफोनको उत्पादनमा विभिन्न चरणहरू हुन्छन् । आजका मितिसम्म आईफोनको प्रमुख एसेम्बली चीनमा हुँदै आएको छ । आईफोन १६ भने भारतमा पनि एसेम्बल हुने बताइएको छ । आईफोन उत्पादनकै चरणमा यसको प्रोसेसर, क्यामेरा सेन्सर निर्माणका कामहरू हुन्छन् ।

प्रोसेसरस् :आईफोनको प्रमुख चिप ‘ए सिरिज’ अमेरिकामा डिजाइन गरिन्छ । यसलाई ताइवान सेमिकन्डक्टर म्यान्युफ्याक्चरिङ कम्पनी ९टीएसएमसी०ले ताइवानमा निर्माण गर्छ ।

स्क्रिनस् :आईफोनको डिस्प्ले दक्षिण कोरियाको सामसङ र एलजी तथा जापानको जापान डिस्प्ले कम्पनी ९जेडीआई० द्वारा निर्मित हुन्छ ।

क्यामेरास् आईफोनको क्यामेरा मोड्युलहरू विभिन्न देशहरूमा बनाइन्छ । विशेषगरी जापान र दक्षिण कोरियामा यसको निर्माण हुँदै आएको छ । सोनी कर्पोरेसनले आईफोनका लागि क्यामरा सेन्सरहरू उत्पादन गर्ने गर्छ ।

फिङ्गरप्रिन्ट सेन्सर र फेस आईडीः यी सेक्योरिटी रेकग्निसन कम्पोनेन्ट अमेरिका, युरोप, र एसियाका विभिन्न निर्माता कम्पनीहरूले बनाउँछन् ।

एसेम्बली

आईफोनमा आवश्यक सम्पूर्ण कम्पोनेन्ट तयार भइसकेपछि एसेम्बली प्रक्रिया सुरु हुन्छ । अहिलेसम्म आईफोन एसेम्बल गर्ने काम चीनको फक्सकन (Foxconn), पेगाट्रोन (Pegatron), र लक्सशेयर(Luxshare) जस्ता ठूला म्यान्युफ्याक्चरिङ कम्पनीहरूले गर्दै आएका छन् । उनीहरूले आईफोनका विभिन्न पार्ट्सलाई जोड्छन् र अन्तिम उत्पादनका रूपमा तयार पार्छन् ।

डिस्ट्रिब्यूसन

एसेम्बल भइसकेपछि एप्पलले आफ्नो उत्पादन विश्वभरिका बजारमा पठाउँछ । वितरण केन्द्रहरू मुख्यतया अमेरिका, चीन, र युरोपमा अवस्थित छन् । त्यहींबाट आईफोन विश्वभरिका देशहरूमा निर्यात गरिन्छ ।

यस्तो थियो पहिलो आईफोन

३.५ इन्च डिस्प्ले भएको एप्पलको पहिलो आईफोनमा सामसङको एआरएम प्रोसेसर थियो । २ मेगापिक्सेलको मुख्य क्यामेरा भएको उक्त फोनमा सेल्फी क्यामेरा भने थिएन । यसमा एम्बियन्ट लाइट सेन्सर, मल्टिटच फिचर, एक्सेलेरोमिटर र प्रोक्सिमिटी सेन्सर समावेश थियो ।

१२८ एमबी र्याम भएको सो डिभाइस ४, ८ र १६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो । त्यस्तै यसमा १४०० एमएएच क्षमताको ब्याट्री राखिएको थियो, जसको मूल्य कम्पनीले ४९९ अमेरिकी डलर कायम गरेको थियो ।