भीमफेदी गाउँपालिकाको छोटो परिचय

पालिका संचारकर्मी
५ भाद्र २०८१, बुधबार १५:३४

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ सय ४५.२७ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साविकको भीमफेदी रहेको छ । यो स्थानीय तह मकवानपुर जिल्लाका ५ वटा साविकका गाउँ विकास समितिहरु र १ गाउँ विकास समितिका ३ वटा वडाहरु मिलाएर बनाइएको हो । यस गाउँपालिका अन्तर्गतका साविक गाउँ विकास समितिहरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, ईपापन्चकन्या र नामटार रहेका छन् । तामाङ, मगर र क्षेत्री जातीको उच्चतम बसोबास रहेको पाइन्छ । यस गाउँपालिकामा ९ वटा वडा रहेको छ ।

यस गाउँपालिकाको सिमानामा पूर्व तर्फ ललितपुर जिल्ला,पश्चिम तर्फ कैलाश गाउँपालिका र हेटौडा उपमहानगरपालिका, उत्तर तर्फ थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका र दक्षिण तर्फ हेटौडा उपमहानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिका रहेको छ । जनगणना २०६८ अनुसार यस गाउपलिकाको साक्षरता प्रतिशत ६८.८ रहेको छ । यस मध्य पुरुष साक्षरता प्रतिशत ७५.४ र महिला साक्षरता प्रतिशत ५८.३ रहेको देखिन्छ ।