पाठेघरको बायोप्सी निकाल्ने क्रममा एक महिलाको मृत्यु
हेटौंडा । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । चितवनको गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालको पाठेघरको बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । ढकाललाई मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकोमा उनको मृत्यु भएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिल्यै देखि मुटुरोगी रहेको ढकालको अप्रेसनको क्रममा मृत्यु भएको हो । ‘पाइनल एनेस्थेसिया लगाएपछि ढकालको अवस्था गम्भीर भएको भन्ने छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले भने, ‘अवस्था गम्भीर भएपछि थप उपचारको लागि आईसियूमा सारिएको रहेछ । तर केहीबेरमा नै उहाँको मृत्यु भएको भन्ने जानकारी अस्पताल प्रशासनले दिएको छ ।’
यता, मृतकको आफन्तले भने अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन् । मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको ढकालको राति १० बजेतिरको समयमा मृत्यु भएको अस्पताल प्रशासनले जानएको छ । मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन्। मृतक महिलाको एक छोरी र एक छोरा छन् ।

पालिका संचारकर्मी 






