थानाभर्याङमा स्थित विद्युत प्राधिकरणको पर्खाल भत्कियो

पालिका संचारकर्मी
४ भाद्र २०८१, मंगलवार १२:४५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा अवस्थित नेपाल विद्युत प्राधिकरणको पर्खाल भत्किएको छ । स्थानीय बासिन्दाहरूका अनुसार, मंगलबार दिउँसो ३ बजे तिरको समयमा परेको भारी वर्षाका कारण पर्खाल भत्किएको हो ।
सिमलटारतर्फको करिब २० मिटर लामो पर्खाल ढलेका कारण त्यस क्षेत्रमा आवागमन अवरुद्ध भएको छ । पुरानो पर्खालको जग कमजोर भएको र प्राधिकरणले भित्रपट्टि डीपीसी ढलान गर्ने काम गरिरहेको हुनाले पर्खाल भत्किएको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार यो घटना नयाँ भने होइन । करिब ३÷४ वर्षअघि पनि यही स्थानमा पर्खाल ढलेको थियो । यो बाटो सिमलटार जाने मुख्य मार्गहरू मध्ये एक हो, जहाँबाट विद्यालयका बस, अन्य सवारी साधन र सयौँ मानिसहरू दैनिक आवतजावत गर्छन् ।

स्थानीयहरूले प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार, पटक(पटक पर्खाल ढल्दा पनि प्राधिकरणले नयाँ पर्खाल निर्माणमा ध्यान दिएको छैन । हालसम्म कुनै मानवीय क्षति नभए पनि यस क्षेत्रमा ठूलो जोखिम रहेको उनीहरूको भनाइ छ । प्राधिकरणको अन्य क्षेत्रका पर्खालहरू पनि सुरक्षित नरहेको स्थानीयहरूले बताएका छन् ।