विभिन्न घटनामा एकैदिन ५ जनाको मृत्यु

पालिका संचारकर्मी
२ भाद्र २०८१, आईतवार ११:२३

हेटौंडा । बागमती प्रदेशमा एकैदिन ५ जनाको मृत्यु भएको छ। शनिबार विभिन्न घटनामा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ। प्रहरीका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङमा विभिन्न घटनामा ५ जनाको मृत्यु भएको हो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ लामसुरेका ५ बर्षीय बालकको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ।

बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका रामचन्द्र अर्यालका ५ वर्षीय छोरा सिभान्स अर्यालको मृत्यु भएको हो। प्रहरीका अनुसार बाटो छेउमा हिडिरहेको अवस्था ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, धादिङको त्रिशूली नदीमा पानीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। सिद्धलेक गाउँपालिका ६ फुर्केखोला स्थित त्रिशूली नदीमा नाम नखुलेको एक महिला हाम फालेर बेपत्ता भएको भन्ने आधारमा खोजी गर्दा रोराङ गाउँपालिका ३ स्थित त्रिशुली नदीमा शव फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको बताइएको छ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी नदीको किनारमा एकजना पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शनिबार दिउँसो त्रिपुरासुन्दरी गाउँपालिका ३ जात्राथली बस्ने ५५ बर्षीय मान बहादुर बस्नेत मृत फेला परेका हुन्। गत साउन २३ गतेदेखि हराइरहेका बस्नेतको शव फेला परेको हो। पोष्टमार्टम पछि परिवारले शव बुझिलगेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिकामा ३ छिम्तीखोलामा एक बेवहारिसे शव फेला परेको छ। खोलाको किनारमा उत्तानो परेको अवस्थामा सडेको शव फेला परेको प्रहरीले जनाएको छ।

यता, नुवाकोटको शिवपुरी गाउँपालिका–५ आलेडाँडामा एक महिलाले झुण्डिएर आत्माहत्या गरेकी छन्। आलेडाँडाकी ३६ बर्षीया निरा तामाङले घरभन्दा डेढसय मिटर पर रहेको कापलको रुखमा प्लाष्टिकको डारीको पासो लगाई आत्माहत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।