बागमतीमा लम्पी स्किन खोप अभियान : ६१ हजार गाईबस्तुमा लगाइयो खोप, अभियान जारी

पालिका संचारकर्मी
३१ श्रावण २०८१, बिहीबार १२:२७

हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुरु गरेको लम्पी स्किन विरुद्धको खोप अभियाननको छ दिनमा ६१ हजार गाईवस्तुमा खोप लगाइएको छ । यही साउन २५ गते शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियानको छैठौँ दिनसम्ममा ६१ हजार ६ गाईवस्तुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।

प्रदेशका १३ जिल्लामध्य् सबैभन्दा धेरै चितवनमा ८ हजार ३ सय १६ गाईभैँसीमा यो खोप लागाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु शाखा प्रमुख तथा खोप अभियानका फोकल पर्सन डा। सन्तोष अधिकारीले जानकारी दिए । अभियानको क्रममा हालसम्म सबैभन्दा कम खोप लगाउने जिल्ला भक्तपुर छ । भक्तपुरमा अहिलेसम्म २ सय ९४ गाईभैंसीमा लम्पी विरुद्धको खोप लगाइएको छ ।

साउन २५ गते खोप अभियानको सुरुवातको दिन प्रदेशका १३ जिल्लाका कुल ७ हजार ५ सय ३३ गाईभैँसीमा यो खोप लगाइएको थियो । यस्तै दोस्रो दिन साउन २६ मा ९ हजार ९ सय ५६, २७ गते १३ हजार ४ सय ४०, २८ गते ११ हजार ८ सय १४, २९ गते १० हजार ५ सय ४६ र ३० गते ७ हजार ७ सय १७ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको डा.अधिकारीले बताए ।

हालसम्म काठमाडौँमा ४ हजार ५ सय ५२ गाईभैंसीलाई लम्पी विरुद्धको खोप लगाइएको छ भने ललितपुरमा १ हजार ९ सय १२, धादिङमा ६ हजार ६ सय ६७, सिन्धुलीमा ५ हजार १ सय ९७ र रामेछापमा ३ हजार ८ सय १ गाईभैंसीमा खोप लगाइएको छ । यस्तै, दोलखामा ६ हजार ४ सय ४४, सिन्धुपाल्चोकमा ८ सय ७९, मकवानपुरमा ५ हजार ६ सय ७९, काभ्रेपलाञ्चोकमा ७ हजार ४ सय ८८, नुवाकोटमा ५ हजार ८ सय ३९ र रसुवामा ३ हजार २ सय ५१ गाईभैँसी तथा पडापाडीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेशका १३ जिल्लामा ७६ हजार २ सय ७५ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइने लक्ष्य सहित मन्त्रालयले लिएको छ।