बारामा माछाभात खाएका ३ बालबालिकाको मृत्यु, घटना रहस्यमय भएको प्रहरीको आशंका
हेटौंडा । विषाक्त खानाका कारण बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएपछि प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोल निवासी नरेश रामको परिवारले शनिबार साँझको खानामा माछा र भात खाएका थिए । सँगै खाना खाएका परिवारका ६ जनामध्ये तीनजना बालबालिकाको मात्रै ‘फुड प्वइजन’ को कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । बालबालिकासँगै बसेर उही खाना खाने तीन जना वयस्कलाई भने केही नभएपछि प्रहरीले घटनालाई रहस्यमय मान्दै अनुसन्धान अघि बढाएको हो ।
‘त्यो परिवारमा ८ जना रहेछन्,’ इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले भने, ‘शनिबार साँझ तीन बालबालिका सहित परिवारका ६ जनाले सँगै बसेर खाना खाएका रहेछन् । तर, बालबालिकाको फुड प्वइजनबाट मृत्यु हुँदा पनि बयस्क तीन जनालाई भने केही भएको छैन । यो घटना अलिक रहस्यमय देखिएको छ ।’
घरमुली नरेश रोजगारीको लागि भारतको पञ्जाबमा बस्छन् । घरमा नरेशका आमा–बुवा, पत्नी र चारजना छोराछोरी बस्दै आएका थिए । तीन बालबालिका विषाक्त खाना (फूड प्वाइजन) को कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नरेशका कान्छा छोरा भने सकुशल छन् ।
‘शनिबार साँझ घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका बालबालिका राति सिकिस्त बिरामी भएपछि अस्पताल लगिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले भने, ‘आइतबार र सोमबार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।’ मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन् । उनीहरुको कलैया र वीरगञ्जका अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिकित्सकले उनीहरुको मृत्यु फुड प्वइजनबाट भएको बताएका छन् । खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्याएका थिए । ‘वीरगन्जस्थित नेसनल मेडिकल कलेजका डाक्टर अशोक गुप्ताले बालबालिकाको मृत्यु फुड प्वाइजनबाट भएको पुष्टि गरेका छन्,’ इन्सपेक्टर राईले भने, ‘तर, घटना रहस्यमय देखिएकाले हामीले भीसेरा परीक्षणको लागि नमूना काठमाडौँ पठाएका छौँ । रिपोर्ट आएपछि थप विषय खुल्ला ।’
परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेपछि प्रहरीले घटनालाई रहस्यम मानेको हो । अहिलेसम्म हामीलाई प्राप्त जानकारीअनुसार तीनजना बालबालिकाको मृत्यु भए पनि ठूला मान्छे सामान्य बिरामी पनि भएका छैनन्,’ सापकोटाले भने, ‘माछाभातले फुड प्वाइजन हुँदा त ठूला मान्छेलाई पनि हुनुपर्ने हो । हामी थप अनुसन्धानकै क्रममा छौँ ।’
उनले इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताए । इन्सपेक्टर राईले माछा र भातको कारणले मात्रै फूड प्वाइजन भएर बालबालिकाको मृत्यु भएको भन्न नसकिने बताए ।

पालिका संचारकर्मी 






