हेटौंडा उपमहानगरपालिकाले करको दायरा बढाएको विरोधमा मउवा संघको आन्दोलन घोषणा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले करको दायरा वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघको आइतबार साँझ बसेको कार्यसमिति बैठकले पहिलो चरणमा पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको संघका अध्यक्ष कृष्ण गुप्ताले जानकारी दिए ।
७ असारमा भएको उपमहानगरको १५ औं नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो । उक्त निर्णय गुपचुपमै भएको भन्दै व्यवसायीहरुले यसअघि नै उपमहानगरको ध्यानाकर्षण गराएका थिए ।
एक साताअघि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघलगायतले कर वृद्धिको निर्णय फिर्ता लिन माग गरेका थिए । उपमहानगरलाई ध्यानाकर्षण गराउँदा समेत २५ गतेको कार्यपालिका बैठकले मागको सम्बन्धमा चासो नदेखाएकाले आन्दोलनको घोषणा गर्न बाध्य भएको संघले जनाएको छ । उपमहानगरले नगर सभाबाट ६ वटा समूहमा विभाजन गरिएको वहालकर ५० प्रतिशतसम्म वृद्धि गरेको थियो । ‘ए’ देखि ‘एफ’ समूहसम्मका करदातालाई क्रमशः ७ हजारबाट १० हजार, ६ हजारबाट ८ हजार ५ सय, ५ हजारबाट ६ हजार ५ सय तथा ४, ३ र २ हजार कर रहेकालाई थप एक हजारका दरले करमा वृद्धि गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी, उपमहानगरपालिकाले थोक बिक्रेतातर्फ ५० प्रतिशत, ‘क’ वर्गको थोक तथा खुद्य्रा बिक्रेता र कोल्ड ड्रिंग्स तथा बेकरीमा १ सय प्रतिशतले राजश्व वृद्धि गरेको छ । सुनचाँदी गरगहनातर्फ ठुला बिक्रेताको हकमा ६६ प्रतिशत र ज्याला लिई सुनचाँदीको काम गर्नेको हकमा ५० प्रतिशतले कर बढाएको हो ।

पालिका संचारकर्मी 






